गोरखामा मनसुनजन्य विपद्को पूर्वतयारी

गोरखा- गोरखाका पालिकाहरुले मनसुनजन्य विपद् भैहालेमा उद्धार, उपचार र राहत वितरणका लागि तयारी अवस्थामा रहेको बताएका छन् । जिल्ला विपद् ब्यवस्थापन समितिको आइतवार भएको बैठकमा सहभागी पालिकाका जनप्रतिनिधिहरुले स्थानीय विपद् सहायता कक्षमार्फत उद्धार र राहतको काम गर्ने गरि तयारी गरिएको बताएका हुन् ।

केही पालिकाले उद्धार सामग्री खरीद गरेर राखेको, केहीले पालिकाभित्रका प्रहरी इकाईलाई हस्तानतरण गरिएको र केही पालिकाले यस्ता सामग्री खरीदको प्रक्रियामा रहेको बताएका हुन् । बैठकमा बोल्दै आरुघाट गाऊँपालिकाका अध्यक्ष राजु गुरुङले प्राविधिक अध्ययनबिना जथाभावी सडक निर्माण हुँदा बाढी र पहिरोको जोखिम बढेको बताउनुभयो ।

पहिरो रोकथामका लागि तारजाली खरीद, विपद् प्रभावितका लागि सुरक्षित वासस्थलको पहिचान, आवश्यक सामग्रीको उपलब्धता लगायतका विषयमा पालिकाले पूर्वतयारी गरेको उहाँको भनाई छ ।

बैठकमा पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, वारपाक सुलिकोट गाऊँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङ, धार्चे गाऊँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ, शहीद लखन गाऊँपालिका वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठ र गोरखा नगरपालिकाको विपद् तथा वातावरण शाखाका प्रमुख ध्रुवप्रसाद घिमिरेले आफ्नो पालिकाले विपद् प्रतिकार्यका लागि गरिरहेको तयारीबारे जानकारी दिनुभएको थियो ।

गोरखा नगरपालिकाको दरौंदी लगायत नदी किनारस्थित सिंचाई कुलोको मुहान नदिले कटान गरेको भन्दै किसानको गुनासो आउने गरेको घिमिरेले बताउनुभयो । यो वर्षको मनसुन शुरुभएयता कुलोको मुहान बगाएकाले सिचाई गर्न नपाएको भन्दै १० भन्दा बढी ठाऊँबाट गुनासो आएको उहाँको भनाई छ ।

बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका प्रल्हाद लामिछानेले गत वर्षहरुमा विपद् प्रतिकार्यका लागि खरीद गरिएको सामग्री ब्यक्तिलाई हचुवाका भरमा वितरण गरिएको गुनासो गर्नुभयो । बैठकले विपद् लगायत घटनाबाट भएको क्षतिको विवरण जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रमार्फत एकिकृत गर्ने, मनसुनजन्य विपद्का घटनाको सूचना आदानप्रदान गर्दै उद्धार र राहतको कामलाई सहज बनाउन प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकाय, पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत तथा वडाध्यक्षलाई समावेश गरि ह्वाट्स एप र भाइबर गु्रप सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले जिल्लामा हालसम्म भएको मनसुनजन्य विपद् र विपद्को सम्भावित जोखिमका बारेमा जानकारी दिएका थिए । जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठकले प्रहरीले गरेको आन्तरिक विश्लेषणबाट जिल्लाका २ शय भन्दा बढी स्थल मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिका र पालुङटार नगरपालिकाका प्रमुख लगायत विभिन्न पालिकाका जनप्रतिनिधि, विषयगत कार्यालयका प्रमुख, विषयगत कार्यालयका प्रतिनिधिको सहभागीता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.