साउन ६ गते मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदै

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले साउन ६ गते प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते दिउँसो एक बजे प्रदेशसभाबाट विश्वासको मत लिने व्यहोरा सहितको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।

असार २४ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जमकट्टेलले चौथोपटक विश्वासको मत लिन लाग्नुभएको हो ।

सोमबार बिहान सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुग्नुभएको हो ।

यद्यपी, असार २४ गते बिहान बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले पनि मुख्यमन्त्रीलाई विश्वासको मतको सामना गर्न सुझाएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । कुल एकसय १० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै ६४ मत पुग्छ ।

जसका कारण जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्न असम्भव देखिन्छ । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ । काँग्रेस र एमाले बाहेक सबै दल मिल्दा पनि कुल ४६ मत मात्रै पुग्छ ।

२०७९ पौष २५ गते प्रदेशका ७० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता जम्कट्टेलले त्यतिबेला प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.