गत आर्थिक बर्षको बजेटमा लक्ष्यको ८० प्रतिशत खर्चगर्दा आम्दानी ७४ प्रतिशत

काठमाडौँ- नयाँ आर्थिक वर्ष २०८१/०८२ आजदेखि सुरु भएको छ । सरकारले बजेटमार्फत लिएका नयाँ नीति र घोषणाहरु आजैबाट कार्यान्वयनमा जानेछन् । नयाँ आर्थिक वर्षका लागि सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेट पनि आजैदेखि कार्यान्वयनमा आएको छ । गत आर्थिक वर्षमा सरकारले लक्ष्यको ८० प्रतिशत खर्च गर्दा आम्दानी भने ७४ प्रतिशत मात्रै रहेको छ ।

नयाँ आर्थिक वर्षको सुरुवातमै मुलुकले नयाँ अर्थमन्त्री पाएको छ । चालू आर्थिक वर्षको बजेट ल्याउने बेलाका अर्थमन्त्री वर्षमान पुन बाहिरिनुभएको छ भने बजेट कार्यान्वयनका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेल जिम्मेवारीमा आउनुभएको छ । पछिल्लो एक वर्षमा मात्रै तीन अर्थमन्त्री फेरिएका छन् । तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले बजेटका प्राथमिकता निर्धारण गर्नु भएको थियो भने निवर्तमान अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउनु भएको थियो ।

तर, बजेट कार्यान्वयन गर्ने बेलामा भने पौडेल अर्थमन्त्री बन्नु भएको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएर अर्थसम्बन्धी तीन विधेयकले कानुनी रूप लिएसँगै मंगलबारदेखि चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा गएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षमा कूल लक्ष्यको करिब ७४ प्रतिशत राजस्व असुली भएको छ भने ८० प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षका लागि सरकारले करिब १७ खर्ब ५१ अर्ब बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा करिब १४ खर्ब आठ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । चालु शीर्षकमा लक्ष्यको ८३ प्रतिशत र पुँजीगत शीर्षकमा लक्ष्यको ६३ प्रतिशत मात्रै खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकको बजेट खर्च ८६ प्रतिशत छ ।

सरकारले गत आर्थिक वर्षमा करिब १४ खर्ब ७२ अर्ब रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । तर वार्षिक लक्ष्यको करिव ७४ प्रतिशत अर्थात् झण्डै १० खर्ब ९४ अर्ब मात्रै राजस्व असुली भएको छ । गत आर्थिक वर्षमा वैदेशिक अनुदानतर्फ सरकारी लक्ष्यको तुलनामा वास्तविक प्राप्ति निकै कम छ । गत वर्ष ४९ अर्ब ९४ करोड बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले २२ प्रतिशत अर्थात् ११ अर्ब २२ करोड बराबर मात्रै अनुदान लिन सकेको देखिएको हो ।

आयव्यय अनुमान दुई पटक संशोधन गर्दा पनि सरकारले लक्ष्य भेटाउन सकेन । सरकारले पहिलो पटक अर्धवार्षिक समीक्षामार्फत् र दोस्रोपटक गत आर्थिक वर्षको बजेट ल्याउँदा आयव्यय अनुमान संशोधन गरेको थियो । गत जेठ १५ गते निवर्तमान अर्थमन्त्री पुनले सरकारी आयव्यवको अनुमान दोस्रोपटक संशोधन गर्दै १५ खर्ब ३० अर्ब ३५ करोड अर्थात् विनियोजनको ८७ दशमलव चार प्रतिशत हुने गरी संशोधित अनुमान प्रस्तुत गर्नुभएको थियो ।

निवर्तमान अर्थमन्त्री पुनले यो आर्थिक वर्ष २०८१-८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याउनु भएको थियो । अघिल्लो आर्थिक वर्षभन्दा करिब ६ प्रतिशत बढी बजेट रहे पनि लक्ष्यअनुसार राजस्व संकलन नहुनु र पुँजीगत खर्च पनि नहुनु लगायतका समस्याले कार्यान्वयनमा भने चुनौती छ । विदेशी मुद्राको सन्चिति बढे पनि सरकारको खाता घाटामा छ । यस्तो अवस्थामा राज्यकोष सञ्चालन गर्ने पदमा पुगेका अर्थमन्त्री पौडेलप्रति चालू आर्थिक वर्षमा अर्थतन्त्र गतिशील हुने अपेक्षा सबैले राखेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.