काठमाडौँमा बाढीः ३६ जनाको उद्धार, बल्खुको पुलमुनी एक पुरुषको शव फेला

काठमाडौँ- काठमाडौँको बल्खु पुलमुनी एक पुरुषको शव फेला परेको छ । आज बिहान बल्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ । बाँके घर भई मृतक सुकुम्वासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेको हो ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको कालीमाटी प्रहरी वृत्तले जनाएको छ । मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् ।

गए रातीदेखि भएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी-खोला किनारा डुबानमा परेको छ । बल्खुस्थित तरकारी बजार र सुकुम्वासी बस्तीमा पनि बाढी पसेको छ ।।

यसैबीच भारी वर्षासँगै काठमाडौँका नदी-खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।

काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।

ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.