कोरियाको बिशेष शिक्षा सिकाइको अनुभव नेपालमा अझ बढी सान्दर्भिक

काठमाडौँ –  विशेष शिक्षाको अबधारणा र यसको कार्यान्वयनको बलियो नमूना मानिएको दक्षिण कोरियाले नेपालमा पनि आफ्नो अनुभवलाई प्रयोग गर्न सकिने जनाएको छ ।

अपाङ्गता भएका र विशेष शिक्षा जरुरी भएका विद्यार्थीहरुका लागि पाठ्यक्रमदेखि सिकाइ र मुल्याङ्कनसम्मका कुरालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर कोरियाले नेपाललाई सहयोग गरिरहेको छ ।

यसैक्रममा नेपालमा विशेष शिक्षालाई अगाडि बढाउन लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेसन (लुपिक, चाङवोन नेसनल युनिभर्सिटी, कोरिया) ले काठमाडौँमा छलफल कार्यक्रमको आयोजना गर्‍यो ।

काठमाडौंका दश विशेष विद्यालयका प्रमुखहरूसँग कोरियाली विशेष शिक्षाको नयाँ अवधारणाबारे कार्यशाला आयोजना भएको हो ।

कार्यक्रममा नेपाल सरकारका शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयका सह सचिव डा.कमलप्रसाद पोख्रेलले नेपालमा विशेष शिक्षाको वर्तमान अवस्था, नीति र भविष्यमा सम्बोधन गर्नुपर्ने कार्यहरू प्रस्तुत गर्नुभको थियो ।

उहाँले उचित शिक्षा नपाएका धेरै अपाङ्गता भएका बालबालिकालाई विशेष शिक्षामा सुधार गरी विशेष शिक्षाको अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कोरिया वुजिन स्कूलका प्रिन्सिपल पार्क जुयोलले कोरियामा भएको विशेष विद्यालयको बारेका जानकारी दिनुभएको थियो । उहाँले कोरियाली सरकारले उच्च शिक्षा सम्म निःशुल्क शिक्षा प्रदान गर्ने गरेको बताउनुभयो ।

पार्कले २१ वर्षसम्मका सबै अपाङ्गता भएका व्यक्तिहरूले कुनै पनि शैक्षिक खर्च नतिरिकन सरकारी सहयोगमा विशेष शिक्षा प्राप्त गर्ने जानकारी दिनुभयो । उहाँले कोरियाली सरकारले विशेष शिक्षा प्राप्त गर्ने विद्यार्थीहरूका लागि छुट्टै विशेष शिक्षा पाठ्यक्रम विकास गरी लागू गरेको पनि बताउनुभयो ।

प्रत्येक विशेष विद्यालयले राष्ट्रिय स्तरको विशेष शिक्षा पाठ्यक्रमको आधारमा आफ्ना विद्यार्थीहरूको आवश्यकतासँग मिल्ने शैक्षिक सामग्री र विधिहरू छनोट र समायोजन गर्ने गरेके भन्दै त्यसको लागि, विद्यालय स्तरको विशेष शिक्षा पाठ्यक्रम र विशेष शिक्षकहरू व्यवस्थित गर्ने गरेको बताउनुभयो ।

त्यस्तै कोरियाली शिक्षक हान यङसुनले नेपालमा विशेष विद्यालयहरूमा शिक्षा सुधार गर्न आवाश्यक रहेको बताउनुभयो ।

त्यस्तै कोरियाली प्रोफेसर डेयोङ जियोङले नेपालका सबै अपाङ्गता भएका व्यक्तिहरूले निकट भविष्यमा विशेष शिक्षा प्राप्त गर्नेमा ढुक्क रहेको बताउनुभयो ।

कार्यशालामा सहभागी विशेष विद्यालयका प्रधानाध्यापकहरूले नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको विशेष शिक्षा र कल्याणका लागि सन्तोषजनक सहयोग नगरे पनि कोरियाका अनुभवहरु उपयोगी भएको उल्लेख गर्नुभएको थियो ।

नेपालमा धेरै अपाङ्गता भएका व्यक्तिहरू घरमै लुकेर बसेका हुदा उनीहरूलाई अनिवार्य शिक्षाको पहुँच नपुगेको उहाँहरूले दाबी गर्नुभयो ।

उहाँहरूले निकट भविष्यमा नै नेपालका सबै अपाङ्गता भएका व्यक्तिहरूले शिक्षाको अधिकारको ग्यारेन्टी गरी उनीहरूको जीवनस्तरमा सुधार गर्न राज्य अघि बढ्ने तर्क राख्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.