समावेशी शिक्षा पढेकालाई आयोगमा समावेश गराउन सुझाव

काठमाडौँ-  शिक्षक सेवा आयोगले समावेशी शिक्षा बिषयलाई जाँच लिन पाउने गरी व्यवस्था गर्नुपर्ने विज्ञहरुले सुझाएका छन ।

आज लुपिक, छाङवान नेशनल युनिभर्सिटी कोरियाले किर्तिपुरमा आयोजना गरेको “विशेष शिक्षाका विज्ञहरुका लागि उच्च गुणस्तरीय पाठ्यक्रम” सम्बन्धि कार्यशालाका सहभागीहरुले विशेष तथा समावेशी शिक्षा पढेका विद्यार्थीहरुले सामाजिक अध्ययन विषयमा प्रतिस्पर्धा गर्न पाउने गरी शिक्षक सेवा आयोगको योग्यता अन्तर्गत समावेश गरी जाँच दिन पाउने व्यवस्था गरिनुपर्छ भन्नुभयो ।

अहिले स्नातक,स्नातकोत्तर,एमफिल र पिएचडीमा समावेशी शिक्षाको अध्ययन हुँदै आएको छ । तर यो बिषय अध्ययन अध्यापन गरिएपनि शिक्षाको क्षेत्रमा समावेशी विषयमा प्रयाप्त संख्यामा रोजगारीका लागि कोटा छैनन्।

शिक्षक सेवा आयोगमा अरु विषयमा जाँच दिन पाउने व्यवस्था छ । तर समावेशी विषयमा भने यो विषय अध्ययन गरिसकेका विद्यार्थीहरुले अवसर पाएका छैनन ।

शिक्षक सेवा आयोगमा अन्य विषयमा जाँच दिन पाइन्छ तर विशेष तथा समावेशी शिक्षा पढेका विद्यार्थीहरु शिक्षक सेवा आयोगमा समावेशी विषय नभएकोले अहिले प्रतिस्पर्धा गर्नबाट वन्चित हुनु परेको समावेशी विषयमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुको गुनासो थियो ।

कार्यक्रममा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सह-सचिव डा. कमलप्रसाद पोख्रेलले समावेशी शिक्षामा लगानी बढाउँदै शिक्षामा नीति धेरै बन्ने गरेका तर पुर्णरुपमा कार्यान्वयन हुन नसकेको अनुभव सुनाउनु भयो।

बनेका नीति कार्यान्वयन गर्नका लागि सचेतना र क्षमता अभिवृद्धि जरुरी रहेको सह -सचिव पोख्रेलले भनाइ थियो । समावेशी शिक्षालाई गुणस्तरीय, प्रभावकारी र सबैको लागि शिक्षा बनाउनका लागि मन्त्रालय लागि परेको सहसचिव पोख्रेलले बताउनुभयो ।

लुपिक, छाङवान नेशनल युनिभर्सिटी कोरियाका निर्देशक प्रा.डा. जङ दे योङगले अपाङ्गता भएका विद्यार्थीलाई व्यवस्थित र प्रभावकारी शिक्षा दिन शिक्षा क्षेत्रमा विशेष शिक्षकको व्यवस्था गर्नुपर्छ भन्नुभयो ।

हाल त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय र पूर्वाञ्चलन विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहमा विशेष शिक्षाका विषय पढाइ हुँदै आएको हुँदा अब नेपालले विशेष शिक्षालाई आधुनिकीकरण गर्दै नयाँ अध्याय सुरु गर्नुपर्ने बताउनुभयो ।

उहाँले विशेष शिक्षाका लागि बजेट बढाउन पनि आग्रह गर्नुभयो ।

कार्यशालामा त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डीन प्रा. डा. चित्र बहादुर बुढाथोकी, त्रिभुवन विश्वविद्यालय ग्राजुएट स्कुल अफ एजुकेशन (जिएसई)का प्रमुख प्रा. डा. वेदराज आचार्य, त्रिवि विशेष आवश्यकता शिक्षाका प्रमुख डा. नवराज न्यौपाने, सुदुरपश्चिम विश्वविद्यालयका डा. यज्ञराज पाण्डेय, मध्यपश्चिम विश्वविद्यालयका डीन प्रा. डा. यम बहादुर कार्की,पूर्वान्चल विश्वविद्यालयका निर्देशक महेश प्रसाद निरौलाले विश्वविद्यालयको वर्तमान अवस्था, चुनौती तथा आगामी योजनाबारे आफ्ना धारणा राख्नुभएको थियो ।

लुपिक, छाङवान नेशनल युनिभर्सिटी कोरियाले त्रिभुवन विश्वविद्यालय किर्तिपुर, मध्यपश्चिम विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय र पूर्वान्चल विश्वविद्यालयसँग शैक्षिक सामाग्री , छात्रावृत्ति तथा शैक्षिक आदानप्रदानमा सहकार्य गर्दै आएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.