सार्वजनिक यातायातमा बीमा अनिवार्य छ, तर यात्रुले सहजै बीमा रकम पाउँछन् त ?

काठमाडौं- सरकारी कानून तथा नियमले हरेक सवारी साधनको अनिवार्य रुपमा बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । त्यत्ति मात्र होइन सार्वजनिक सवारी साधनले समेत हरेक यात्रुको बीमा गरेको हुन्छ ।

तर दुर्घटनामा परेका यात्रुले के साँच्चै बीमा रकम सहजै पाउँछन् त ? भन्ने प्रश्नको उत्तर सहज नरहेको यातायात व्यवसायी आफैं बताउँछन् ।

सार्वजनिक सवारीमा यात्रा गर्ने हरेक यात्रुको बीमा गरिएको हुन्छ । सो सवारी साधन दुर्घटनामा पर्दा यात्रुको अंगभंग अथवा मृत्यु भएमा पीडितलाई सोही बीमाबाट क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ । तर सो बीमा रकम भने सहजै नपाएको गुनासो पीडितको छ ।

यातायात व्यवसायीले कागजात पुरा नराख्ने अथवा नबनाउने गरेको स्वीकार गर्दै यातायात व्यवसायी, बीमा कम्पनीहरुले समेत अनावश्यक रुपमा दु:ख दिने गरेको बताउँछन् ।

यातायात क्षेत्रको व्यवस्थापन र नीरिक्षण तथा कानून कार्यान्वयन गर्ने जिम्मा पाएको यातायात व्यवस्था विभागले भने यात्रुको मात्र नभई यात्रको सामान अथवा गुन्टाको पनि बीमा गर्नुपर्ने व्यवस्था गरिएको बताएको छ ।

सवारी साधन दुर्घटनामा परेमा पीडितलाई बीमा बापतको रकम उपलब्ध गराउनकालागि स्थानीय जिल्ला प्रशासन कार्यालयले पहल गर्ने गरेको छ । कागाजात नभएकै कारण कतिपय पीडितले बीमा बापतको रकम प्राप्त गर्न कठिन भएको विभागले जनाएको छ ।

बीमा सम्बन्धी नियामक निकाय बीमा प्राधिकरणले भने यात्रु र तेस्रो पक्षको बीमा गर्नुपर्ने प्रावधानले पीडितलाई निक्कै राहत भएको बताउँदै हाल ५ लाख रुपैयाँ रहेको तेस्रो पक्षको बीमा रकमलाई बढाउने तयारी गरिएको जनाएको छ ।

नेपालमा हुने सवारी दुर्घटनाबाट दैनिक ७ जना मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ । विगत १५ बर्षमा सडक दुर्घटनामा परी ३३ हजार जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा पर्नुका थुप्रै कारणहरु रहेको र यसलाई न्युनिकरण गर्नेतर्फ सबै लाग्नुपर्छ ।

नेपालको कठीन भौगोलिक अवस्थाका कारण सवारी दुर्घटनालाई शून्यमा झार्न नसकिएपनि दुर्घटनाबाट पीडित बनेकाहरुलाई सहज रुपमा समयमै क्षतिपूर्ति र बीमाको रकम उपलब्ध गराउने व्यवस्था बनाउनकालागि सरोकारवाल पक्ष सबै सचेत हुनुपर्ने आवश्यकता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.