मुस्ताङमा उत्पादित स्याउ टिप्न समय ताकियो
म्याग्दी– हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादित स्याउ टिप्नको लागि समय तोकिएको छ ।
बिहीबार जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा सम्पन्न जिल्लास्थित सरोकारवाला निकायको बैठकमा स्याउ टिप्ने समय निर्धारण गरिएको हो । उक्त बैठकले मुस्ताङमा फलेको गाला प्रजातिको स्याउ (अघौटे छिटो पाक्ने भएकाले यही भदौ १० गतेपछि टिप्न अनुमति दिने निर्णय गरेको छ । यसैगरी किङ रोट रेड डेलिसियस प्रजातिको स्याउ पनि छिटै पाक्ने भएकाले भदौ १५ गतेपछि टिप्ने निर्णय भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
त्यस्तै रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियस, फुजीलगायत स्याउहरू भने आगामी असोज १ गतेपछि मात्रै टिप्ने निर्णय भएको छ ।
मुस्ताङमा उत्पादित स्याउ उपयुक्त समयमा टिपेमा स्याउको स्वाद र गुणस्तर राम्रो हुने मानिन्छ । समय पुगेको स्याउले उपभोक्ताहरूमा पनि ख्याति कमाउने तथा किसानहरूले समेत राम्रो मूल्य पाउने हुँदा समय तोक्ने निर्णय गरिएको कृषि ज्ञान केन्द्र प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो । उहाँका अनुसार सरोकारवालासमेतको बैठकले गरेको निर्णयलाई पालना गरी स्याउ टिप्न स्याउ उत्पादक किसानहरूलाई निर्देशन दिइएको छ । समयभन्दा अगावै स्याउ टिपेर बजार लैजाने प्रचलनले स्याउको गुणस्तर घट्ने भएकाले समय तोकिएको हो ।
छिटो पाकेका स्याउ भने ढिलो बजार पठाउँदा गुणस्तरमा कमी आउने भएकाले भदौको १० र १५ गतेपछि टिप्न समय तोकिएको कृषि ज्ञान केन्द्र प्रमुख बस्ताकोटीले बताउनुभयो । गतवर्ष भने सबै प्रजातिको स्याउ टिप्न असोज लागेपछि मात्रै अनुमति दिइएको थियो । सबै प्रजातिका स्याउलाई एउटै समय तोक्दा छिटो पोकेका स्याउको गुणस्तरमा कमी आउने भएकाले यसवर्ष भने छिटो पाकेका स्याउलाई भदौ महिनामै टिपेर बजार पठाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।
स्याउ टिप्ने समय निर्धारण गर्ने बसेको सरोकारवालाको बैठकमा थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचन, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नाम्गेल गुरुङ, घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थापामगर, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसहित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्याउ उत्पादन कृषक समूहका प्रमुख, प्रतिनिधि एवं स्थानीय किसानहरूको उपस्थिति रहेको थियो ।
मुस्ताङमा सबैभन्दा राम्रो स्याउ फल्ने मार्फा र टुकुचेलाई मानिन्छ भने मार्फालाई स्याउको राजधानी भनेर समेत चिनिन्छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको पाँचवटै वडा, थासाङको टुकुचे, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र चैले स्याउ उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन् ।
पछिल्लो समय उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केही वडा र लोमान्थाङ गाउँपालिकामा समेत स्याउ खेती हुन थालेको छ । मुस्ताङ जिल्लामा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस प्रजातिका स्याउको उत्पादन हुँदै आएको छ ।
मुस्ताङमा केही समयदेखि यता उच्च घनत्वको ईटालीयन प्रजातिको स्याउ समेत लगाउन थालिएको छ । मुस्ताङको स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौं, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली र विदेशी बजारमा पुग्ने गरेको गर्दछ ।
समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा माथिको उचाइसम्म स्याउ खेती हुने गरेको छ । राम्रोसँग व्यवस्थापन गर्न सकेमा एउटै बोटबाट मात्रै करिब ३ क्वीन्टलसम्म स्याउ उत्पादन गर्न सकिने कृषि प्राविधिकहरु बताउँछन् ।
प्रतिक्रिया राख्नुहोस्