धादिङमा चेपाङ समुदायले सामूहिक रूपमा भेला भई न्वागी पर्व मनाए

धादिङ – प्रकृति पूजक र भुमीपुत्र मानिने अल्पसंखेक अति सीमान्तकृत चेपाङ समुदायका मानिसहरूले धादिङमा सामूहिक रूपमा भेला भई न्वागी पर्व मनाएका छन् ।

चेपाङ समुदायका मानिसहरूले नयाँ अन्न बाली भित्र्याए पछि पितृ र भूमिको पूजा गरी खाने चलन अनुसार चेपाङहरुले भदौ महिनामा न्वागी पर्व मनाउने चलन रही आएको छ । यसले लोप हुँदै गएको चेपाङ समुदायका भाषा,संस्कृति र संस्कारहरू बचाउनका लागी पनि यो पर्वलाई विशेष रूपमा मनाउन सुरु गरेको जानकारहरूको भनाई छ । न्वागी पर्व मनाए पछि चेपाङ समुदायमा नयाँ वर्षको समेत सुरुवात भएको मान्ने चलन रहेको छ । यस पटक भने बेनीघाट रोराङ्ग गाउँपालिका ८ स्थित विधाङमा यो पर्वलाइ जिल्लाभरका चेपाङ हरु भेला भई सामूहिक मनाएका हुन् ।

यो पर्वमा चेपाङ समुदायका मानिसहरूले दिवङ्गत भएका पितृको पूजा गर्ने र अन्न फलाउने भूमिलाई खुसी पार्ने प्रचलन रहेको चेपाङ समुदायका जानकारहरू बत्ताउँछन् । यससँगै फलेका नयाँ अन्नबाली पाकेपछि पितृलाई नबुझाई खाँदा पितृ रिसाउने, अनिष्ट हुने जनविश्वास सो समुदायका मानिसहरूमा रहेको छ । जसले गर्दा चेपाङ झाँक्रीहरूले गएरातीदेखी रातभर फलाकेर पितृ बुझाउने र वर्षभरि लगाएको नयाँ अन्नबाली फलफूल पितृलाई चढाउने चलन सो समुदायमा रही आएको हो । नेपालका अल्पसंखेक अति सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वाँगी पर्व निकै रमाइलो र चाखलाग्दो छ । रातभरि ढ्याङ्ग्रो बजाउँदै पितृ पूजा गर्ने भूमिको पूजा गर्ने नयाँ अन्न बाली भोली पल्ट देखी खाने चलन सो समुदायका मानिसहरुमा रही आएको छ ।

यो पर्व चेपाङ अर्थात् प्रजा समुदायको राष्ट्रिय पर्व हो भने यसलार्ई ‘छोनाम’ पनि भन्ने गरिन्छ । पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वको रूपमा परिचित यो पर्वमा आफ्ना कुलभरिका मानिसहरू मूल झाँक्रीको घरमा जम्मा भएर रातभर जागाराम बसी आफूले बारीमा फलाएको अन्न बाली पितृ र देवीदेवतालाई चढाउने गर्दछन् । झाँक्रीले मन्त्र भन्दै फलाक्ने र ढ्याङ्ग्रो बजाउँदै पूजा गर्ने गर्दछ । न्वागी पर्वमा विशेष गरी आफ्नो बारीमा उत्पादन भएको घैया धान, गाभा, निबुवा, घिरौँलाका साथै जंगली कन्दमूल गिठा भ्याकुर लगायत अन्य तरकारी पितृलाई चढाउने गर्दछ ।

यसका लागि चेपाङ झाँक्री (पान्दे) हरुले एक पाखे ढ्याङ्ग्रो बजाउँदै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ । रातभरिको पूजा पाठ सकिए पछि उनीहरूले भोलीपल्ट भने आफ्न्तहरुसंगको भेटघाट र जमघट गरी शुभकामना आदान प्रदान समेत गर्ने गर्दछ, भने राम्रो लगाउने मिठो खाने दिनको सुरुवात पनि न्वागी पर्वबाटै हुने विश्वास चेपाङ समुदायमा रही आएको छ ।

जिल्लाभर यो समुदायका मानिसहरूको सङ्ख्या२१ हजार मात्रै रहेका छन् । ती मध्य सबै भन्दा धेरै बेनी घाट रोराङ्ग गाउँपालिकामा १६ हजार रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.