अलैँचीको मूल्यमा वृद्धिले कृषक उत्साहित 

धनकुटा-खोल्सीको कालो सुनको उपनामले परिचित नगदे बाली अलैँचीको नयाँ फसलको मूल्यमा आएको वृद्धिले किसान तथा व्यवसायी उत्साहित बनाएको छ। नयाँ अलैँची कारोबार हुने सुरु समयमै बजारमा निस्कन थालेको अलैँचीको मूल्यमा दिनानुदिन दिन उकालो लाग्ने क्रमले किसान तथा व्यापारीलाई उत्साहित बनाएको हो। अहिले अलैँचीको मूल्य प्रतिमन ८४ हजार रहेको छ। अघिल्ला वर्षहरूमा कृषकको उत्पादन सकिएसँगै मूल्य बढ्ने र कृषकको उत्पादन हुन थालेपछि मूल्य घट्ने गरे पनि यो वर्ष भने नयाँ अलैँची उत्पादन हुँदा समेत मूल्य नघटेकोले आफुहरु उत्साहित रहेको पाख्रिवास नगरपालिका २ का अलैँची कृषक निर्मल स्याङदेनले बताउनुभयो।

२०७१ सालमा १ लाख २० हजार प्रतिमन पुगेको अलैँची त्यस यता भने निरन्तर ओरालो लाग्दै आएको थियो। २०७४ सालमा ६० हजारबाट ओरालो लागेको मूल्य गत पुससम्म प्रतिमन २५ हजार रुपैयाँले कारोबार भएको अलैँची त्यस यता भने अलिअलि बढ्दै गएको हिलेका अलैँची व्यापारी श्याम शाह बताउनु हुन्छ। गत वर्ष करिब ६० हजार रुपैयाँ प्रतिमन सम्म पुगेको उहाँको भनाई छ।

धनकुटामा करिब ४ दशक यता अलैँचीको खेती हुँदै आएको छ। जिल्लामा करिब १ सय १२ हेक्टर क्षेत्रफल वाट ३६ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको छ। धनकुटामा आर्थिक वर्ष २०७४।७५४ सबैभन्दा धेरै क्षेत्रफलमा खेती र अलैँचीको उत्पादन भएको थियो। कृषि ज्ञान केन्द्र धनकुटाले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४।७५ मा २३० हेक्टर क्षेत्रफल वाट १३४ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। त्यसयता भने विभिन्न रोग किरोको प्रकोपको कारण अलैँचीको उत्पादन निरन्तर ओरालो लाग्दै आएको छ।

पूर्वका धनकुटा सहित सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम जिल्लामा बढी मात्रामा अलैँची उत्पादन हुने गरेको छ। हाल नेपालमा राम साही, गोल्साही , डम्बरसाही, जिर्मले, चिबेसाही लगायतका जातका अलैँचीको खेती हुने गरेको छ। मसला, औषधि, तेल र मद्यपान बनाउन अलैँचीको प्रयोग गरिने गरेको छ। अलैँची पूर्वको काँकडभिट्टा र विराटनगरबाट भारत निर्यात हुने गरेको छ। औल क्षेत्रमा साउनबाटै अलैँचीको उत्पादन सुरु भए पनि माथिल्लो तथा लेकाली क्षेत्रमा अलैँची कात्तिकमा मात्रै निस्कने गर्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.