अझै सशक्त रूपमा सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन आवश्यक छ: काँग्रेस महामन्त्री थापा

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले पनि ७ बुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अझै सशक्त रूपमा सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताउनु भयो । उहाँले लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई थप बिस्तार आफूहरूले चाहेको बताउनु भयो । विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यताहरू हटाएर सुदृढ रूपमा संशोधन र पुनरावलोकन हुने बताउनु भयो । उहाँले २०८४ सम्म सङ्घीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानुनहरू बनाउने, संरचना निर्माण गर्ने कुरा टुङ्ग्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सङ्घीयतालाई मजबुत बनाउन चाहन्छौँ । लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई अरू थप बिस्तार गर्न चाहन्छौँ । तर त्यो बिस्तार गरिरहँदै गर्दा त्यसलाई मजबुत बनाउनका लागि हिजो संविधान बनाउँदै गर्दा कतिपय कुरामा ध्यान नपुगेको होला, कतिपय कुरा हामीले ओभर लुक गरेका होला उँ । कतिपय त्यो बेलाको राजनीतिक बाध्यताहरू थिए होलान् । कतिपय हामीलाई यस्तो गर्दा पो राम्रो हुन्छ की ? भन्ने हामीले सोचेको भन्दा फरक भए होलान् । हामीले संविधानको पुनरावलोकन गर्नुपर्छ अब । यी कतिपय कुरालाई सुधार गर्नुपर्छ । हामी अहिले नेकपा एमालेले नेतृत्व गरेको यो दुई वर्षको पहिलो कार्यकाल त्यसपछि हाम्रो पार्टी सभापतिले नेतृत्व गर्ने बाँकी कार्यकालमा सङ्घीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानुनहरू बनाउने, संरचना निर्माण गर्ने यी तमाम कुराहरू टुङ्ग्याउन चाहन्छौँ । टुंग्याउँछौँ ।’

महामन्त्री थापाले निर्वाचित भएको प्रतिनिधि र पार्टीको बिचमा हुनुपर्ने हार्दिकता धेरै ठाउँमा नपाएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.