लोकप्रिय मत ल्याउने दलले सरकारको नेतृत्व गर्न पाउनुपर्छ: महामन्त्री शर्मा
मकवानपुर- स्थानीय तहको निर्वाचन सकिएको करिब दुई बर्षपछि नेपाली काँग्रेसले निर्वाचन समीक्षा सुरु गरेको छ ।
स्थानीय तह समन्वय विभागको आयोजनामा बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुर जिल्लाबाट २०७९ सालको स्थानीय तह निर्वाचनको समीक्षासहित काँग्रेसले अन्तरसंवाद कार्यक्रम सुरु गरिएको हो ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख नेपाली काँग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र उम्मेदवार समेतको सहभागितामा अन्तरसंवाद कार्यक्रम गरिएको हो ।
कार्यक्रममा महामन्त्री शर्माले संविधान संशोधन गर्दा समावेशी सहभागितालाई नहटाइने बताउनुभयो ।
संविधान संशोधन गरेर समावेशी सहभागिता हटाइन्छ भन्ने माओवादी केन्द्रको आरोपलाई खण्डन गर्दै समावेशी सहभागिता सुनिश्चित हुने गरी संविधान संशोधन गरिने स्पष्ट पार्नुभयो ।
उहाँले विपी कोइराला प्रधानमन्त्री हुँदा समावेशीताको जग हालेको नेपाली काँग्रेसले समाबेशीतामा दायाँबायाँ नगर्ने दावी गर्नुभयो ।
महामन्त्री शर्माले अग्रगामी काम हुने गरी संविधान संशोधन हुन्छ भन्नुभयो।
उहाँले पछिल्लो ७० वर्षको अवधिमा कुनै पनि प्रधानमन्त्रीले ५ वर्षे कार्यकाल पुरा गर्न नसकेको उल्लेख गर्दै लोकप्रिय मत ल्याउने संसदको पहिलो दलले नै सरकारको नेतृत्व गर्न पाउने व्यवस्था संविधानमा स्पष्ट लेख्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नेपाली काँग्रेस सिद्धान्त र विचारमा अडिने पार्टी भएको उल्लेख गर्नुभयो ।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जनताको घर दैलोमा पुगेर जनताको सेवा गर्दै समस्या समाधानका लागि काम गर्नुपर्ने सभापति बानियाँको भनाइ थियो ।।
प्रतिक्रिया राख्नुहोस्