संसदीय इतिहास बोकेको पुरानो संसद् भवनको प्रबलीकरणको काम सुरु

काठमाडौं- भूकम्पका कारण जीर्ण बनेको नेपालको संसदीय इतिहास बोकेको पुरानो संसद् भवन अर्थात ग्यालरी बैठकको प्रबलीकरणको काम सुरु भएको छ । प्रबलीकरण गर्ने गरी शुरु भएको पुन:निर्माणको काम १८ महिना भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

कुनै बेला यहाँ सभाहल र बैठक कोठाहरु विशिष्ट व्यक्तिका स्वागतमा झकिझकाउ हुन्थे । राणा प्रधानमन्त्री चन्द्र शम्शेरले १९६५ सालमा नीजि थिएटरका रुपमा बनाएको सो भवनबाटै तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले मुलुककै पहिलो संविधानको रूपमा लिइने नेपाल सरकार वैधानिक कानुन २००४ को घोषणा गरेका थिए ।

राणा शासनको समयमा भारदारी सभा र पन्चायती समयमा पन्चायत भवनका रुपमा परिचित यो भवन ग्यालरी बैठकका रुपमा चर्चित थियो । २०६५ साल अघि सम्म संसद बैठक बस्ने गरेको भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएपछि प्रयोगविहिन भएको थियो ।

भूकम्पले क्षतिग्रस्त भवनको भित्ता चर्किनुका साथै छतबाट समेत पानी चुहिन थालेपछि भवन भित्रका सामानहरु समेत विग्रन थालेका थिए । परम्परागत तरिकाको माटो, इट्टा र सुर्कीको प्रयोग गरी निर्माण गरिएको ग्यालरी बैठक विशिष्ट कलाकृति सहित निर्माण भएको छ ।

भवनको ऐतिहासिक पक्ष र स्वरुप नविग्रने गरी सरकारले प्रबलीकरण गर्नकालागि ३९ करोड रुपैयाँमा १८ महिनाभित्र काम सक्ने गरी प्रेरा निर्माण सेवालाई ठेक्का दिएको छ । प्रबलीकरणका लागि जेठ महिनामै सम्झौता निर्माण कम्पनीले भने भदौ महिना देखि मात्र काम सुरु गरेको छ ।

भूकम्पका कारण जोखिमयुक्त भएपछि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले २०७६ सालको पुस महिनामा यो भवनलाई भत्काएर नयाँ बनाउन सुझाव दिएको थियो । तर पुरातात्विक महत्वको भवनलाई भत्काउनु भन्दा प्रबलीकरण गर्नुपर्ने सुझाव अनुरुप पुननिर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.