भक्तपुर अस्पतालमा ‘फास्ट ट्र्याक ओपीडी’ ल्याउने योजनामा छौं : स्वास्थ्यमन्त्री किरण थापा

भक्तपुर – बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर प्रादेशिक अस्पतालमा ‘फास्ट ट्र्याक ओपिडी’ को सुविधा थप गर्ने योजना रहेको बताउनुभयो । शनिबार राष्ट्रिय सञ्चार केन्द्रले भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री थापाले उक्त सुविधा थप गर्ने योजना बनाइएको जानकारी गराउनुभएको हो ।

अस्पतालमा लाइन बस्न नखोज्ने र चाँडै फर्किन खोज्नेहरूलाई मध्यनजर गर्दै उक्त सुविधा ल्याउन लागेको उहाँले बताउनुभयो । ‘फास्ट ट्र्याक ओपीडीमा बिमामार्फत हुने स्वास्थ्य परीक्षण सुल्क भन्दा केही बढी सुल्क हुन्छ । तर, फाइदा के हुन्छ भन्दा लाइन बस्नु पर्दैन । पैसा नै तिरेर भए पनि चाँडै सकेर जान्छु भन्नेहरूलाई मध्यनजर गर्दै यो सुविधा ल्याउन लागिएको हो ।’, मन्त्री थापाले भन्नुभयो । तर, उक्त माध्यमबाट उपचार गराउँदा टिकटको खर्च भने सबै नगद नै तिर्नुपर्ने मन्त्री थापाले जानकारी दिनुभयो  ।

फास्ट ट्र्याक ओपीडीमार्फत् सेवा दिनलाई थप जनशक्तिको आवश्यकता पर्न जाने हुँदा त्यही रकमले नै चिकित्सकको छुट्टै एकाइ बनाएर सेवा प्रवाह गर्ने योजना बनाइएको उहाँले बताउनुभयो।

आगामी दिनहरूमा बागमती प्रदेश सरकारले आँखा उपचारका लागि पनि विभिन्न सेवा सुविधा थप गर्ने योजना बनाएको मन्त्री थापाले बताउनुभयो ।

हालका लागि भक्तपुर प्रादेशिक अस्पताल र तिलङ्गा आँखा अस्पतालबिच प्रादेशिक अस्पतालबाट नै तिलङ्गाका चिकित्सकले आँखा उपचार गर्ने गरी सम्झौता गर्ने तयारीसमेत भएको उहाँले जानकारी दिनुभयो । त्यसका लागि अस्पतालमा तिलङ्गाका लागि एउटा छुट्टै कोठाको व्यवस्था गरिनेसमेत उहाँले बताउनुभयो । उक्त सम्झौता पछि, अस्पतालमार्फत नै आँखा उपचार गर्दा बिमाको क्षेत्रभित्र पर्न जाने हुँदा सर्वसाधारणका लागि सहज हुने मन्त्री थापाले बताउनुभयो ।

भक्तपुर अस्पताल पछि उक्त सेवा बागमती प्रदेशका काभ्रे र चितवन बाहेकका ११ जिल्लामा विस्तार गरिने योजना रहेकोसमेत उहाँले जानकारी दिनुभयो । ‘काभ्रेमा भने रेयूकाई आँखा अस्पतालले राम्रो सुविधा दिइरहेका कारण त्यहाँ आँखा उपचारका लागि अन्य अस्पतालको आवश्यकता छैन ।’ उहाँले भन्नुभयो।

प्रदेशका अस्पतालहरूले हाल गुणस्तरीय सेवा प्रवाह गरिरहेको दाबी गर्दै उहाँले अस्पतालको व्यवस्थापनमा भने केही कमी रहेको बताउनुभयो । तर, सरकारले स्वास्थ्य विधेयक पास गरे लगत्तै अस्पतालमा व्यवस्थापन समिति बन्ने र उक्त समस्या पनि समाधान हुने उहाँको भनाई थियो । अहिलेको अवस्थामा भक्तपुर अस्पतालमा नै पनि कर्मचारी अपर्याप्त रहेको बताउँदै उहाँले व्यवस्थापन समिति बनेपछि कर्मचारी थप गर्न सहज पुग्ने बताउनुभयो । ‘नीतिगत आधारमा हेर्दा हाल भक्तपुर अस्पतालमा ४०० कर्मचारीको आवश्यकता पर्छ, तर २५७ कर्मचारी मात्र छन् ।’, बागमतीका स्वास्थ्य मन्त्री थापाले भन्नुभयो ।

तर, केही अस्पतालमा भने चिकित्सक हाजिर गरेर आफ्नो क्लिनिक जाने गरेको समेत गुनासो आएको उहाँले बताउनुभयो । त्यसको समाधानका लागि इ–हाजिर पर्याप्त नभएको हुँदा डिजिटलाइजेसनमा जाने योजना बनाइएकोसमेत उहाँले जानकारी दिनुभयो । डिजिटलाइजेसनमा गएपछि चिकित्सकले दिनभर गरेको कामको रेकर्ड बस्ने हुँदा कामको समयमा यताउता जाने समस्याको समाधान हुने उहाँको भनाई थियो।

अन्तरक्रिया कार्यक्रममा ६–७ महिनादेखि स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा अस्पताललाई खर्च धान्न मुस्किल परेको भन्ने प्रश्न उठेको थियो । त्यसलाई सम्बोधन गर्दै मन्त्री थापाले स्वास्थ्य बिमा सङ्घीय सरकारको अधिकार क्षेत्रमा पर्ने भएकाले सरकारले नै आफ्नो तरिकाबाट त्यसको भुक्तानी गर्ने बताउनुभयो । ‘स्वास्थ्य बिमामार्फत सेवा दिएको भनी हाल १३ अर्ब बढीको दाबी परेको छ । केही ठाउँमा सेवा दिएकोभन्दा बढी बिल उठेको आशङ्का गरिएको छ । त्यसलाई छानबिन गरेपछि मात्र भुक्तानी गर्ने भनिएको छ ।’ उहाँले भन्नुभयो, ‘भक्तपुर प्रादेशिक अस्पताल नै पनि औषधि किन्न र कर्मचारीलाई तलब खुवाउनका लागि स्वास्थ्य बिमाको भुक्तानीको प्रतीक्षा गरिरहेको छ । यसमा पनि सरकारले पहल गरिरहेको भन्ने बुझिएको छ ।’

केही समय अगाडि संघीय सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा सातै प्रदेशका स्वास्थ्य मन्त्री, गाउँपालिका महासङ्घ र नगरपालिका महासङ्घका नेतृत्वसहितको बैठक भएको थियो । त्यसमा पनि स्वास्थ्य बिमाको रकम चाँडै नै भुक्तान गर्न पहल गरिने योजना बनाइएकोसमेत उहाँले जानकारी दिनुभयो ।

उक्त बैठकमा पनि स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित बनाउन सङ्घ, प्रदेश र स्थानीय तह एक आपसमा समन्वय गरेर, एक अर्कासँग कार्यक्रम नजुध्ने गरी नयाँ योजना बनाउने सहमति भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.