जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तीन तहका सरकारबिच समन्वय जरुरीः मुख्यमन्त्री सिंह

महोत्तरी – मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको भन्दै तीन तहका सरकारले समन्वयकारी भूमिका निभाउनुपर्ने बताउनुभएको छ ।

मङ्गलवार महोत्तरीको बर्दिबासमा भएको समुदायमा निर्देशित जलवायु अनुकूलन राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । जलवायु अनुकूलनको क्लाइमेट डेभलपमेण्ट डायलग र प्रकृति रिसोर्स सेन्टरको आयोजनामा भएको कार्यक्रममा उहाँले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय हुन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले तीन तहका सरकार मिलेर काम गर्नसके मात्रै जलावयु परिवर्तनबाट नेपाललाई परेका असरहरूको न्यूनीकरण गर्न सकिने बताउनु भयो । उहाँले सङ्घले प्रदेश र स्थानीय तह र स्थानीय तहले प्रदेश र सङ्घ सरकारलाई गाली गरेर समस्याको समाधान नहुने भन्दै सबै एकजुट भई समस्याको समाधानका लागि काम गर्नुपर्ने बताउनु भयो । उहाँले प्रदेश र स्थानीय तहलाई बजेट कम दिइएको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले काम धेरै गर्नुपर्ने तर बजेट सीमित हुने भएकाले सङ्घ सरकारले बजेटको अनुपात बढाउनुपर्ने बताउनु भयो । उहाँले स्थानीय तहले पनि सङ्घ र प्रदेशका सांसदहरूसँग सम्बन्धित क्षेत्रमा योजना बनाउँदा समन्वय गरे जलवायु परिवर्तनको असर कम गर्ने गरी विकास गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ग्लोबल वार्मिङको चपेटा नेपालमा परिरहेको छ । अब हामीले के गर्न सकिन्छ ? सङ्घीयता आइसकेपछि सङ्घीयताको वकालत गर्ने मान्छेहरूको सङ्ख्या एकातिर कम छ भने अर्कोतिर सङ्घीयताको विरोधमा कुरा गर्ने मान्छेहरू बढिरहेका छन् । हामीले समन्वय गर्न जरुरी छ । स्थानीय तहले प्रदेशलाई, प्रदेशले सङ्घलाई गाली गर्ने र सङ्घले स्थानीय तह र प्रदेशलाई गाली गर्ने कुराले मात्रै हुँदैन । समन्वयकारी भूमिका हुनुपर्छ । अहिले ७५३ वटा स्थानीय पालिका छन् । सात प्रदेश छन् । जम्मा १५ प्रतिशत बजेटमा सात सय ५३ पालिका र १५ प्रतिशत बजेटमा ७ प्रदेश छन् । बजेटको अनुपात हामीलाई पुगेको छैन । सङ्घ सरकारबाट बजेटको रिसोर्सेस बढाउनु पर्छ । स्थानीय तहका जनप्रतिनिधिहरूले प्रदेश तहका मान्यहरूसँग पनि समन्वय गरेर आवश्यकताका आधारमा समन्वयकारी भूमिका निभाउनु पर्छ । आवश्यकताअनुसारका बजेट पाउन सफल हुनुहुन्छ । समन्वय नभए आवश्यकताअनुसारको बजेट बन्दैन । समन्वयकारी भूमिकामा जान सके काम सहज हुन्छ ।’ 

सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले मौसम फेरबदलको कारणले तराईमा वाटर रिचार्जमा समस्या आएको बताउनु भयो । उहाँले तराईमा इनार, कल धाराहरूमा पानीहरू सुकेर नआउने गरेको बताउनु भयो । उहाँले नसुकेका स्थानमा पनि डरलाग्दो रूपमा हराउँदै गएको बताउनु भयो । उहाँले मधेस प्रदेशको जनकपुर, वीरगन्जमा खानेपानीको इनार, कलहरू सुकेर वाटर ट्याङ्कबाट खानेपानी सप्लाई गर्ने स्थिति आएको बताउनु भयो । उहाँले तापक्रम वृद्धिका कारणले धेरै विद्यालयहरूमा बालबालिकाहरूले गर्मी सहन नसकेर विद्यालय नै बन्द गर्नुपर्ने स्थिति देखिएको र केही दिन यता पनि तीव्र गतिमा गर्मी बढिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मौसम फेरबदलको कारणले वाटर रिचार्जमा समस्यादेखि तराईको ट्युबेल, इनारमा, डिबबोरिङहरु धेरै सुकिरहेको अवस्था छ । कतिपय नसुके पनि वाटर लेभल डरलाग्दो किसिमले डाउन हुँदै गएको स्थिति छ । १० वर्ष मधेस प्रदेशको जनकपुर, वीरगन्जमा खानेपानीको इनार, कलहरू सुकेर वाटर ट्याङ्कबाट खानेपानी सप्लाई गर्ने स्थिति पनि आयो । तापक्रम वृद्धिका कारणले धेरै विद्यालयहरूमा बालबालिकाहरूले गर्मी सहन नसकेर विद्यालय नै बन्द गर्नुपर्ने स्थिति रह्यो । यसपालि पनि यो सुरु भइसकेको अवस्था छ । विगत चार दिनदेखि गर्मी यति धेरै बढेको छ की सहन कठिन भइरहेको छ । मधेस प्रदेशका आठ वटै जिल्लाको तापक्रम यस वर्ष सरदर ४० डिग्रीसम्म पुगेको अवस्था छ ।’

सम्मेलनमा गरिबी र असमानतालाई सम्बोधन गर्न अनुकूलन क्रियाकलापहरूको प्रभावकारिता, स्थानीय स्तरमा अनुकूलन क्रियाकलापको लागि जलवायु वित्तको परिचालन, अनुकूलन क्रियाकलापलाई बढवा गर्न नीतिगत वातावरण निर्माण, स्थानीय अनुकूलन क्रियाकलापलाई विश्वव्यापी अनुकूलन लक्ष्यहरूसँग जोड्नुपर्ने लगायत विषयमा १५ जना विज्ञहरूले आफ्नो प्रस्तुति गर्नेछन् । दुई दिने राष्ट्रिय सम्मेलनको पहिलो दिन जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा स्थानीय स्तरमा भएका अनुकूलन कार्यक्रमहरूको अवलोकन भ्रमण गरिएको छ । विशेष गरी चुरे वरपर देखिएको पानीको समस्या समाधानका लागि गरिएको अनुकूलताका प्रयासहरूको स्थलगत अध्ययन भ्रमण पनि गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.