थप २७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै

रसुवा –  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको सक्रियतामा एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवाका विभिन्न जलविद्युत आयोजनाबाट निर्माण भएको २७०.३ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।

लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोसी जलविद्युत आयोजनाको १०२ मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत आयोजना (१११ मेगावाट), माथिल्लो सान्जेन  (१४.८ मेगावाट) र सान्जेन जलविद्युत आयोजनाको (४२.५ मेगावाट) गरी १६८.३ गरी २७०.३ मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय प्रसारण ग्रिडमा जोडिनेछ ।

लामो समयदेखि प्रसारण लाइनमा समस्या देखिएपछि उर्जा मन्त्री खड्काले आज रसुवाका विभिन्न जलविद्युत आयोजना, प्रसारण लाइन  तथा सवस्टेशनको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

सन् २०१७ को डिसेम्बरमा चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको प्रभावकारी सम्झौता भए पनि विभिन्न कारणले समयमै प्रसारण लाइन र सब स्टेसन बन्न नसक्दा निर्माण कार्य सम्पन्न भएर सञ्चालन हुन नसकेका आयोजनाहरूबाट राज्यलाई दैनिक करोडौँ नोक्सानी भएपछि उर्जा मन्त्री आफै स्थलगत निरीक्षणमा खटिनुभएको हो ।

मन्त्री खड्काले प्रसारण लाइन निर्माणको काम ढिला हुँदा राज्यलाई दैनिक करोडौँ नोक्सानी भएकाले अब ढिलासुस्ती गर्ने कुनै छुट नरहेको बताउनुभयो । “गरिब तथा विपन्न जनताको लगानी रहेको यस्ता आयोजनाको काम ढिलाइ हुँदा जनताहरू प्रत्यक्ष मारमा परेका छन्, अब हेलचक्र्याइँ गर्ने ठाउँ छैन,”– उर्जा मन्त्री खड्काले भन्नुभयो ।

नुवाकोटको पैरेबेसीमा निर्माण भएको त्रिशूली थ्री बी हव २२०÷१३२÷३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशन र रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हव २२०÷१३२÷३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशन र २८ किलोमिटर चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत् खेर गइरहेको थियो ।

रसुवा र नुवाकोटका विभिन्न आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली थ्री बी हव २२०÷१३२÷३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशनबाट उक्त जलविद्युत काठमाडौँको माता तीर्थ सव स्टेशनमा पुर्‍याइनेछ ।

चिलिमे हबदेखि त्रिशूली हबसम्मको २८ किलोमिटर लम्बाई भएको प्रसारण लाइनमध्ये २० किलोमिटर लम्बाइको डबल सर्किट लाइन (५१ वटा टावर) र ८ किलोमिटर लम्बाइको चार सर्किट लाइन (२४ वटा टावर) रहेका छन् । चार सर्किट लाइन रहको आठ किलोमिटर टावरमा निर्माणाधीन अपर त्रिशूली एक (२१६ मेगावाट)बाट उत्पादन हुने विद्युतलाई त्रिशूली थ्रि वी हवसम्म जोडि राष्ट्रिय प्रसारण ग्रिडमा विद्युत् प्रवाह गरिनेछ ।

प्रसारण लाइनका लागि आवश्यक ७५ वटै टावरको फाउन्डेसन निर्माण भए तापनि हाल त्रिशूली थ्रि वी हवको छेउमा (६०० मीटर लम्बाई),  मैलुङ बेसी (१२३५ मीटर लम्बाई) र हाकु (१४०० मीटर लम्बाई)मा तार तान्ने कार्य भइरहेको छ ।

मन्त्री खड्काले आवश्यक जनशक्ति थप गरेर भए पनि प्रसारण लाइन निर्माणको कामलाई दुई हप्ताभित्र सम्पन्न गरी सम्बन्धित जलविद्युत आयोजनाको टेस्टिङ कमिसनिङ कार्यसमेत सम्पन्न गर्न निर्देशन दिनुभयो । जलविद्युत आयोजना र प्रसारण लाइन निर्माणको तालमेल नमिल्दा दैनिक करोडौँ रुपैयाँ राज्यले नोक्सानी ब्यहोरीरहेको उहाँको भनाई थियो ।

निरीक्षणका क्रममा  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्यले रसुवामा निर्माणाधीन जलविद्युत आयोजनालाई समयमा सम्पन्न गरी राष्ट्रिय ग्रिडमा जोड्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले रसुवाका विभिन्न जलविद्युत आयोजना, प्रसारण लाइन तथा सवस्टेशनको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.