अवैध रुपमा चीनियालाई नेपाली नागरिकता दिएको आरोपमा नायव सुब्बासहित पाँच जना पक्राउ

धादिङ- एक चीनिया युवकलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय धादिङका नायव सुब्बासहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धादिङमा कार्यरत नायव सुब्बा कृष्ण प्रसाद थपलिया, नागरिकता दिलाउन सहयोग गर्ने धादिङ खनीयाँवास गाउँपालिका मदनबहादुर तामाङ, रामेश्वर रिमाल, तिब्बतीयन नागरिक छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक घर भएका छिरिङवाङ्दिन शेर्पासहित नेपाली नागरिकता लिने चिनियाँ तिब्बत घर भएका नागरिक सोनाम तामाङलाइ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ । पक्राउ परेका कर्मचारी सुब्बा थपलिया बाहेक सबैलाई राजधानी काठमाण्डौबाट पक्राउ गरेको हो ।

उनीहरूले कर्मचारीलाई आर्थिक प्रलोभनमा परेर नागरिकता लिएको खुलासा भएको छ । सोनाम तामाङलाई गत असोज ४ गते काठमाडौँको बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको र चिनियाँ नागरिक भएको भन्दै सोधपुछ गर्दा नेपाली नागरिकता २६-०१-८१-०३२१७ नम्बरको भेटिएपछि निजलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

सो नागरिकता सक्कली भएको पुष्टि भएको छ । नागरिकता लिन सोनामले चार लाख खर्चेको बताएको छ । सोही क्रममा नागरिकता दिलाउन सहयोग गर्ने सहयोगीहरूले जिल्ला प्रशासन कार्यालय धादिङमा कार्यरत नायव सुब्बा कृष्ण थपलियालाई पचास हजार दिएको आरोप लगाएपछि निजलाई थप अनुसन्धानका लागि प्रहरीले लगेको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभएको छ ।

नेत्रावती डब्जङ्ग गाउँपालिका वडा नम्बर १ ठेगाना राखेर हर्कमान तामाङलाई नक्कली बुवा खडा गरी नागरिकता बनाएको खुलेको छ । नागरिकता लिन स्वयं जिल्ला प्रशासन कार्यालय आउनु पर्नेमा मान्छे समेत उपस्थिती नभएको पनि खुलेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई धादिङ प्रहरीले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.