पोखराको प्रकृति तथा संस्कृति विश्व बजारसम्म चिनाऔँ
कास्की- पोखराको प्रकृति तथा संस्कृतिलाई विश्व बजारसम्म चिनाउन सके पर्यटकीय राजधानीको सार्थकता बढ्नेमा जोड दिइएको छ ।
गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयको आयोजनामा हिजो बुधवार भएको ‘पोखरा पर्यटकीय राजधानी नीति संवाद कार्यक्रम’का वक्ताहरूले उक्त कुरामा जोड दिनुभएको हो ।
कार्यक्रम उद्घाटन गर्नुहुँदै सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनका लागि पोखरा आफैमा प्रचुर सम्भावना स्थल रहेको चर्चा गर्नुहुँदै त्यहाँको प्रकृति अनि संस्कृतिको प्रचारप्रसार गरी पर्यटन क्षेत्रलाई चलायमान गराउनुपर्ने बताउनुभयो । उहाँले नेपालको पर्यटन विकासका लागि नेपाली आकाश सुरक्षित छ भनी प्रमाणित गर्नुपर्नेमा जोड दिनुहुँदै त्यसका लागि नेपाल वायुसेवालाई थप सुदृढ गराउनुपर्ने स्पष्ट पार्नुभयो ।
सरकार प्रदेशले पनि जहाज खरिद गरोस् भन्ने पक्षमा रहेको जनाउनुहुँदै मन्त्री पाण्डेले त्यसका लागि उपयुक्त मोडालिटीबारे छलफल भइरहेको धारणा राख्नुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय राजधानी घोषणा मार्फत पोखरालाई ब्राण्डिङ गर्न खोजिएको स्पष्ट पार्नुहुँदै प्रदेश सरकारले समग्र गण्डकीलाई नै पर्यटकीय क्षेत्र बनाउन पहल गरिरहेको उल्लेख गर्नुभयो । उहाँले पोखरामा पर्यटक कति आए भन्दा पनि कति खर्च गरेर गए भन्ने पक्ष महत्त्वपूर्ण हुने दाबी गर्नुहुँदै कार्यक्रमका सहभागी सबैलाई आ आफ्नो परिवार सहित पोखरा घुम्न निमन्त्रणा दिनुभयो ।
त्यस अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका पर्यटन मन्त्री लक्ष्मण किशोर चौधरी, कर्णाली प्रदेशका पर्यटन मन्त्री सुरेश अधिकारी, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने, कोसी प्रदेशका पर्यटन मन्त्री सदानन्द मण्डल, गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्याल, गण्डकी प्रदेशका पर्यटन सचिव कमानसिंह गुरुङ लगायतले धारणा राख्नुहुँदै पोखरा प्रकृतिको अनुपम उपहार रहेको चर्चा गर्नुभयो ।
कार्यक्रमका बिच गण्डकी प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले पोखरा पर्यटनको राजधानी, पोखरा महानगरपालिकाका रवीन्द्रराज पौडेलले पोखराको पर्यटन विकास एक परिकल्पना तथा पोखरा पर्यटन परिषद्का पूर्व कार्यकारी सदस्य वासुदेव त्रिपाठीले पर्यटकीय राजधानी र हाम्रो दायित्व विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
त्यस अवसरमा पोखरा पर्यटन परिषद्, पर्यटनकर्मी, भिटोफ गण्डकी, होटेल सङ्घ, नाट्टा, टान, रेवान, होमस्टे महासङ्घ, गुरुङ पर्यटन सङ्घ, नेपाल हवाई खेलकुद संस्था, जलयात्रा व्यवसायी, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, टेवानका प्रतिनिधि लगायतले विभिन्न सुझाव दिनुभयो । उहाँहरूले नेपाल भ्रमण गर्दा भारतीय पर्यटकले २५ हजार भन्दा बढी रकम ल्याउन पाउनुपर्ने, पर्यटनलाई पनि कृषि सरह सेवा सुविधा दिनुपर्ने, पोखरा क्षेत्रको सोलो प्याराग्लाइडिङको थप प्रवर्द्धन गर्नुपर्ने, पोखरालाई २४ औँ घण्टा खुला राख्नुपर्ने, पर्यटन बोर्ड पोखरा गठन गर्नुपर्ने, पोखरा छिर्ने सडकको दुरावस्था चाँडै हटाउनुपर्ने लगायत सुझाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्