सप्तकोशी ब्यारेज पुलमा सवारी साधन आवत जावतमा रोक लगाइयो

अत्यावश्यक कामको लागि बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह

सप्तरी– सप्तकोशीको ब्यारेज पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको छ ।

अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको सतह खतराको संकेत पार गरेको शनिबार बेलुका ४ बजेदेखी अर्को सूचना जारी नभएसम्मका लागि पुलबाट पैदल तथा सवारीसाधहरुको आवत जावत बन्द गरिएको हो । अत्यावश्यक कामको लागि बैकल्पिक मार्गको प्रयोग गर्नु अनुरोध गरिएको छ ।

कोशी ब्यारेज पुलमा पानीको सतह बढ्ने क्रममा जारी रहेकाले पुलबाट सवारी साधनको आवत जावतमा रोक लगाउने निर्णय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रान्तीले जानकारी दिनुभयो ।

पानीको बहाव बढेपछि ब्यारेजका ५६ ढोका खुला गरिएको छ । कोशी ब्यारेजमा अहिले खतराको सङ्केतको रातो बत्ती बालिनुका साथै रातो झण्डा देखाइयो छ । सप्तकोशीको पानीको बहाव ५ लाख ४१ हजार १ सय ६५ क्युसेक प्रतिसेकेन्ड  पुगेको  छ।

कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार सन १९६८ मा सात लाख ८८ हजार २ सय क्युसेक पुगेको थियो । जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो । सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्युसेक पुगेको थियो ।

भारतको बिहार राज्य अन्तर्गत जल संशाधन मन्त्रालयले शनिबार दिउँसोसम्म पानीको बहाव ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्न सक्ने भन्दै सम्बन्धित निकायलाई सचेत गराइसकेको छ । बहाव उच्च भएपछि पूर्वी तटीय सुनसरी र पश्चिमी तटीय सप्तरी क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अपनाउन अपिल गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.