कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँः अध्यक्ष ढकाल

काठमाडौँ – उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरला नाकामा पूर्वाधार निर्माण गर्नेकुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

कोरला नाकाको भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले कोरला नाकामा पूर्वाधार निर्माण गर्नेकुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । उहाँले कोरला नाका नेपालको लागि नाका भएको बताउँदै कोरला नाका नेपाल—भारत र चीनलाई जोड्ने सबैभन्दा नजिकको नाका भएको बताउनु भयो । कोरलाबाट नेपालले दुवै देशसँग फाइदा लिन सक्ने उल्लेख गर्नुभयो ।

उहाँले सडक पूर्वाधारको हिसाबले सुनौलीदेखि कोरलासम्म नै पुगेको तर अन्य आधारभूत पूर्वाधार बनाउन नेपालले नसकेको गुनासो गर्नुभयो । उहाँले अधिकांश सडकहरू पनि कालोपत्रे भइसकेकाले सरकारले उच्च महत्त्व दिएर कोरला नाकामा पूर्वाधार निर्माण बढाउनुपर्ने बताउनु भयो । उहाँले पोखरा पुगेका अधिकांश पर्यटकको रोजाई कोरला नाका हुने गरेको भन्दै पर्यटन, व्यापार र आर्थिक गतिविधि बढाउनका लागि महत्त्वपूर्ण हुने दाबी गर्नुभयो । उहाँले चीनको तर्फबाट मात्रै नाकामा पूर्वाधार तयार भइसकेको तर नेपालले छिटो गरी पूर्वाधार तयार गर्न नसक्दा आर्थिक क्रियाकलापमा क्षति भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कोरला नाका नेपालको लागि निकै महत्त्वपूर्ण नाका हो । भारत र चीनलाई जोड्ने सबैभन्दा नजिकको नाकाको रूपमा यो नाका रहेको छ । अहिले सडक पूर्वाधारको हिसाब गर्दा सुनौलीदेखि यहाँसम्म सडकको पूर्वाधार बनेको छ । धेरै जसो ठाउँमा पिच भइसकेको छ भने कतिपय ठाउँमा यसलाई सुधार गर्नुपर्छ । सडकको हिसाबले सुनौली नाकादेखि यो कोरला नाका जोडिसकिएको अवस्था छ । नेपाल आउने अधिकांश पर्यटकहरूमध्ये, जस्तो पोखरा आउने अधिकांश पर्यटकहरू करिब ५० प्रतिशतमध्ये अधिकांश पर्यटक कोरला नाका, मुस्ताङ आउँछन् ।

त्यसैले पनि पर्यटनको हिसाबले पनि यो नाका त्यत्तिकै महत्त्वपूर्ण छ । व्यावसायिक एक्टिभिटी, ट्रेडको हिसाबमा पनि कोरला नाका निकै नै आर्थिक गतिविधि बढाउनका लागि महत्त्वपूर्ण छ ।

चीनको तर्फबाट बोर्डरमा पूर्वाधारहरू तयार भएको छ । हाम्रो तर्फबाट पूर्वाधार केही पनि तयार भएको अवस्था रहेनछ । यो दुई देशको बोर्डरमा बेसिक लेभलको इन्फास्ट्रक्चर बनाउन सके कोरला नाकाबाट पर्यटन गतिविधि, व्यापारजन्य क्रियाकलापबाट धेरै फाइदा नेपालले लिन सक्छ । बेसिक स्तरको पूर्वाधार बनाउने कुरा त्यति खर्चिलो हुन्छ जस्तो मलाई लाग्दैन । सरकारले तुरुन्तै यहाँ बेसिक पूर्वाधार बनाउनुपर्छ । यो नाका धेरै प्राथमिकता दिएको नाका हो । निजी क्षेत्रले पनि त्यसरी नै हेरेको छ ।’

अध्यक्ष ढकालले कोरला नाका सरकार र निजी क्षेत्रका साथै दुई छिमेकी देशले पनि विशेष प्राथमिकता दिएको नाका भएको बताउनु भयो ।

नेपाल र चीनलाई जोड्ने अहिले सञ्चालनमा रहेका तातोपानी र रसुवा नाका भूगोलका हिसाबले कमजोर रहेको र समस्या आइरहने भएकाले कोरला नाकालाई प्राथमिकता दिँदा स्थायी रूपमा पारवहन र व्यापार गर्न सकिने एवं नेपालले अन्य धरै लाभ लिन सक्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.