हेटौँडास्थित कीटजन्य रोग नियन्त्रण केन्द्रको स्तरोन्नतिका लागि स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं, २९ असोजः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हेटौँडास्थित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रको स्तरोन्नति गरी क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गर्नुभएको छ ।

जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनमा सहभागी हुन त्यहाँ रहनुभएका उहाँले डब्लुएचओका महानिर्देशक डा टेड्रोस गिब्रिएसस्सँगको भेटमा यस्तो आग्रह गर्नुभएको हो । मन्त्री पौडेलले नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रूपमा विकास गरी लाभ लिन सकिने भन्नुहुँदै यसका लागि गर्नुपर्ने सहजीकरणका लागि नेपाल सधैँ तयार रहेको बताउनुभयो ।

जवाफमा महानिर्देशक टेड्रोसले नेपालले सङ्गठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिएको चर्चा गर्नुहुँदै मन्त्री पौडेलले राखेको प्रस्तावमा आफू सकारात्मक रहेको बताउनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा भीम सापकोटाले जानकारी दिनुभयो ।

सम्मेलनका क्रममा मन्त्री पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग पनि भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँले बालबालिकामा हुने क्यान्सरसँग जुध्नका लागि नेपालले प्रयास गरिरहेको र यस कार्यमा आवश्यक खोप सहयोगका लागि आग्रह गर्नुभयो । मन्त्री पौडेलले डेङ्गीलगायत छ प्रकारका खोप निःशुल्क उपलब्ध गराउन उहाँमार्फत विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी उहाँले जर्मनीका सङ्घीय स्वास्थ्यमन्त्री कार्ल लउटरबचसँगको भेटवार्ताका क्रममा नेपालले डिजिटल स्वास्थ्यमार्फत स्वास्थ्य सुधार कार्यलाई अगाडि बढाउने बताउनुभयो । जर्मन स्वास्थ्यमन्त्री कार्लले जर्मन अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत नेपाललाई दिन लागिएको करिब ३० मिलियन युरो स्वास्थ्य सहायताको प्राथमिकताबारे जिज्ञासा राख्नुभएको थियो ।

नेपालका महिला स्वास्थ्य स्वयंसेविकाको प्रशंसा

विश्व स्वास्थ्य क्षेत्रका सरोकार भएकाहरूले नेपालका महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिका तथा महिलाको खोप तथा पोषणमा सुधार भइरहेको भन्दै प्रशंसा गरेका छन् । विश्व स्वास्थ्य शिखर सम्मेलनको एक कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले नेपालको दूरदराजमा क्रियाशील ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले पोषण र मातृशिशु स्वास्थ्य सुधारका लागि उदाहरणीय काम गरेको बताउनुभयो । उहाँहरूकै प्रभावकारी भूमिका र योगदानका कारण मातृशिशु मृत्युदर कम गर्न सकिएको उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले नर्वेका स्वास्थ्यमन्त्री जाँ क्रिश्चियन भेस्ट्रे तथा संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) का शीर्ष अधिकारीसँगसमेत भेटवार्ता गर्नुभएको थियो । त्यस अवसरमा युनिसेफका उप कार्यक्रम निर्देशक ओमर अब्दीसँग मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन व्यवस्थित बनाउन र उहाँहरूको सशक्तीकरणका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

जवाफमा अब्दीले महिला स्वास्थ्य स्वयंसेविकाको योगदान प्रशंसनीय रहेको भन्नुहुँदै यस कार्यमा सहयोग गर्न आफूले पहल गर्ने विश्वास दिलाउनुभएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.