पोस्ट मनसुनको प्रभावले देशैभर चिसो बढ्यो

काठमाडौँ – मनसुन सकिएपछि काठमाडौँ लगायत देशका धेरै क्षेत्रमा तापक्रम अचानक घटेको छ। मौसमविद्का अनुसार पछिल्ला दिनमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मुलुकका विभिन्न भागमा बदली भइ चिसो पनि बढ्दै गएको हो । तर बाढीको खतरा भने मनसुनको समयमा भन्दा अलिकम हुने विज्ञहरुले बताएका छन् ।

नेपालमा अहिले मनसुन समाप्त भई पोस्ट मनसुनको प्रभाव देखिन थालेको छ। मनसुन सकिएपछि हावामा रहेको जलवाष्प घट्दा तापक्रम सोसेर राख्ने क्षमता कम हुने, वायुमण्डलमा रहेका बादलहरू हटेपछि रातको समयमा तापक्रम घट्न सुरु हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसैगरी पश्चिमी वायुको प्रभावले पनि चिसो बढाएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएपछि खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ ।

सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको विभागले जनाएको छ । विभागका अनुसार यही असोज २५ गते काठमाडौँको न्यूनतम तापक्रम १६ दशमलब ६ डिग्रि सेल्सियस थियो । २६ गते १६ दशमलब ३, २७ गते १४ दशमलब २ र २८ गते १३ दशमलब ७ डिग्री सेल्लसियस रहेको थियो । यसैगरी २९ गते १४ दशमलब ९, ३० गते १४ दशमलब ६ र कात्तिक १ गते १५ दशमलब ६ डिग्रि सेल्सियस मापन गरिएको छ ।

यसैगरी बाढीको उच्च जोखिम भने देखिदैन । नेपालमा बाढीको जोखिम वर्षभरि नै हुने भएपनि विशेषगरी मनसुनको समयमा बाढीको खतरा उच्च हुन्छ । विभागका बाढी पूर्वानुमान महाशाखा प्रमुख पराजुलीका अनुसार नेपालमा मुख्यतया बाढी तीन कारणले हुन्छ । पहिलो, मनसुनी वायु र त्यसले गराउने भारी वर्षा । दोस्रो, हिमताल विस्फोट र तेस्रो, सुख्खा पहिरो। अब आउने समयमा मनसुनी वायु र त्यसले गराउने भारी वर्षाबाट जोखिम कम भएपनि अन्य दुइ खतराहरूलाई गम्भीर रूपमा लिनुपर्ने हुन्छ । हिमपहिरो र सुख्खा पहिरो जानसक्ने र त्यसले नदिहरु थुनिँदा बाढी आउनसक्ने सम्भावना भने रहिरहने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरीएको छ ।

विशेष गरी हाल देशभरका धेरै सडकहरु वाढी र पहिरोका कारण अवरुद्द हुँदा बैकल्पिक बाटो र डाइभर्सन गरेर सवारी साधन गुडिरहेका छन् । जसले गर्दा कमजोर धरातलमा निर्माण भएका कच्ची सडकहरू र अन्य संरचनाहरूमा सामान्य वर्षाले पनि क्षति पुर्याउने सम्भावना देखिन्छ । यस कारण, मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै आफ्नो योजना बनाउनुपर्ने आवश्यकता सबैभन्दा महत्वपूर्ण रहेको विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.