म्याग्दीका किसानलाई धान भित्र्याउने चटारो

म्याग्दी– हिमाली जिल्ला म्याग्दीका किसानहरूलाई वर्षे बालीअन्तर्गत लगाएको धान पाकेपछि भित्र्याउन भ्याई नभ्याई भएको छ । किसानहरू ‘मानो खाएर मुरी रोप्ने’ समयमा आफ्नो खेतमा रोपको धान, भटमास, बारीमा लगाएको कोदो, भाङ्गो लगायतका खाद्यान्न बालीहरू भित्र्याउने चटारोमा लागिपरेका छन् ।

यति बेला किसानको खेतका गराभरि पाकेको पहेंलपुर धान झुलेको छ भने बारीमा कोदो, भाङ्गो र बोडी, स्याल्टुङ, गहतजस्ता नगदे बालीहरु पाकेका छन् । किसानहरू खास गरी मुख्य बाली धान भित्र्याउने काममा व्यस्त देखिन्छन् । नेपालीहरूको महान् पर्व बडादसैँको सुरुआतदेखि नै किसानहरूले धान बाली भित्र्याउन थालेका थिए । असोजदेखि मंसिरसम्मको समय उनीहरूका लागि अत्यन्त व्यस्त समय हो ।

चाडपर्वसँगै आफूहरू धान काट्ने, उठाउने, कुन्यू लगाउने र दाँई हाल्नेजस्ता काममा व्यस्त भएको किसानहरूले बताएका छन् । धान बाली भित्र्याए लगत्तै गहुँ, जौ, तोरी, उवालगायत हिउँदे बाली लगाउने तयारी छ । जिल्लाको माथिल्लो भेगका किसानहरू धान बाली भित्र्याएर कोदो काट्न र गहुँ, जौ, उवा छर्न लागेका छन् । यसपालि मौसम अनुकूल भएका कारण बाली भित्र्याउन सजिलो भएकाले आफूहरू उत्साहित भएको बेनी नगरपालिका–५, चिप्लेटीका किसान चन्द्रबहादुर बानियाँले बताउनुभयो ।

युवापुस्ता रोजगारी, अवसर र सेवा सुविधाको खोजीमा देश विदेश तथा सहर पसेका कारण गाउँमा श्रमिकको भने अभाव देखिएको छ । बाली लगाउने, स्याहारसुसार गर्ने र भित्र्याउने  कामका लागि गाउँघरमा अझै पनि अर्मपर्म तथा पालो लगाउने चलन रहेको छ । पछिल्लो समय गाउँघरमा गाई गोरु पाल्न छाडेपछि दाँई हाल्ने, खेतबारी जोत्ने र मल बनाउन गाई गोरुको अभाव झेल्न समेत किसानहरू बाध्य छन् । दसैँअघि नै म्याग्दीको माथिल्लो क्षेत्रमा वर्षेबालीहरु भित्र्याउन सुरु भएको थियो । म्याग्दीको कुहुँ, पुलाचौर, घतान, पात्लेखेत, पाखापानी लगायतका क्षेत्रका किसानहरूले धान बाली भित्र्याउन लागेका छन् भने जिल्लाको तल्लो भेगमा पनि काम सुरु भएको छ ।

म्याग्दी जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये यस वर्ष ३ हजार ८ सय ६ हेक्टरमा धान खेती लगाइएको छ भने धानको उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि प्राविधिकहरू बताउँछन् । गएको वर्षमा पनि ३ हजार ८ सय ६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा कुल १२ हजार ९ सय ७८ मेट्रिक टन उत्पादन भई ३ दशमलव ४१ प्रति हेक्टर मेट्रिक टन उत्पादकत्व रहेको थियो । यस पटक मौसम अनुकूल भएको कारणले किसानहरूले अधिकांश ठाउँमा असार महिनामा नै धान रोपाइँ गरेको हुँदा धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख सञ्जीव बास्तोलाले जिल्लाको केही ठाउँमा असिनापानीले धानमा असर पुर्‍याएको भए पनि समग्रमा अहिलेसम्मको अवस्थालाई मध्यनजर गर्दा धान उत्पादन बढ्ने अनुमान गरिएको बताउनुभयो । उहाँले अहिले धान बालीको नमुना सङ्कलन भैरहेको हुँदा त्यसपछि मात्रै धान उत्पादन बढ्ने वा घट्नेबारे वास्तविक तथ्याङ्क आउने जानकारी दिनुभयो । म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दाना लगायतका क्षेत्रहरूमा धान खेती हुँदै आएको छ ।

म्याग्दीमा गौरिया, जेठो बुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरु रोप्ने गरिएको छ । विकासे धान खेतीतर्फ भने किसानहरूले त्यति चासो देखाएका छैनन् । नदी किनारका फाँटहरूमा बढी धान खेतीलगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिन्छ । पछिल्लो समय जिल्लाको सीमित ठाउँमा सुख्खा धान १, २, ३ नामक जातको धान खेती समेत गर्ने गरिएको छ । यहाँको पाखो बारीमा समेत घैया धान रोप्ने चलन छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार म्याग्दीमा कुल ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४ सय १९ हेक्टरको जमिनमा मात्रै खेती हुँदै आइरहेको छ भने खेतीयोग्य जमिन भएर पनि ११ हजार ४ सय ३७ हेक्टर जमिन अहिले पनि बाँझै रहेको छ । म्याग्दीको खाद्यान्नतर्फ मुख्य रूपमा धान, मकै, गहुँ, जौलगायत बालीहरू रहेको कृषि ज्ञान केन्द्र प्रमुख बास्तोलाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.