जाऔँ हिँड घुम्नलाई बराङ्जा–झाँक्री पानी (फोटो फिचर)

म्याग्दी – उत्तरतिर फर्किएर हेर्ने हो भने सेताम्मे हिमाल । तलतिर हेर्दा बेसीका फाँट र म्याग्दी खोलाको सुन्दर दृश्य । पुस, माघमा पर्ने चिसो हिमपात अनि चैत, वैशाखमा ढकमक्क फुल्ने लालीगुराँस । ग्रामीण वस्तीहरुको सौन्दर्यसहित तरेली परेका पहाडका थुम्कालाई नियाल्न पाइने म्याग्दीको झाँक्री पानी पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ ।

पहाडी डाँडाकाँडाको सुन्दरतासँगै हिमालको मनोरम दृश्यले झाँक्री पानी पुग्ने पर्यटक वा जो कोही पनि एकै छिन मन्त्रमुग्ध हुन्छन् । बिहानको सूर्योदयले मनमा झन् आनन्द थपिदिन्छ । वरिपरि देखिने हरियाली वन जङ्गल, फराकिलो डाँडाकाँडा, स्थानीय जनजीवन, लेकाली उत्पादनको स्वाद चाख्न पाउनु र भ्यु–टावर चढेर चारैतिरको मनोरम दृश्यावलोकन गर्न पाउनु झाँक्री पानीको थप विशेषता हुन् ।

मंगला गाउँपालिका–३, बराङ्जामा पर्ने झाँक्री पानी पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा विकसित हुनुको साथै पर्यटक आकर्षणको स्थल बन्दै गएको छ । बराङ्जा गाउँभन्दा माथि झाँक्री पानी पर्दछ । झाँक्री पानीमा पछिल्लो पटक खास गरी अधिकांश आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् । आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण र रोजाइमा परेको झाँक्री पानी क्षेत्र बराङ्जामा विभिन्न कार्यक्रम लिएर आउनेहरू समेत पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । झाँक्री पानी पुगेपछि म्याग्दी जिल्लाको अधिकांश ग्रामीण बस्तीका सौन्दर्य, मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन तथा मगर समुदायको कला, संस्कृति र भेष भूषाबारे बुझ्न पाइन्छ ।

परापूर्व कालमा एक झाँक्रीले त्यस स्थानमा ‘तान्त्रिक विधि’बाट पानी निकालेको भएर झाँक्री पानी नाम रहन गएको किम्बदन्ती पाइने स्थानीय युवा दर्पण रोकाले जानकारी दिनुभयो । झाँक्री पानीबाट प्राकृतिक सौन्दर्यको अवलोकनका साथै मनोरम दृश्यहरू हेर्न पाइने भएकाले पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । यस क्षेत्रबाट संसारको सातौँ अग्लो चुचुरो धौलागिरि हिमालसहित दसौँ अग्लो हिमाल अन्नपूर्ण तथा निलगिरी, मानापाथी, सिस्ने, माछापुच्छ्रे, गुर्जालगायत दर्जनौँ हिमशृङ्खलाहरू देख्न सकिन्छ ।

झाँक्री पानी क्षेत्रमा पर्यटकहरूको आगमन बढ्दै गएपछि यसअघि वडा कार्यालय, मंगला गाउँपालिका र सङ्घीय सरकारको २० लाख रुपैयाँको लागतबाट पर्यटकलक्षित भ्यु–टावर निर्माण गरी सञ्चालनमा ल्याइएको छ । झाँक्री पानीमा भ्यु–टावर बनाएपछि पछिल्लो पटक हिमालसहितको दृश्य हेर्ने पर्यटकको आगमनमा वृद्धि भएको स्थानीयवासी बताउँछन् । समुन्द्री सतहदेखि झन्डै २ हजार ३ सय मिटरको उचाइमा झाँक्री पानी अवस्थित छ । झाँक्री पानी क्षेत्रमा भ्यु–टावरसँगै पदमार्ग र होमस्टेका संरचनाहरू थपिएका छन् ।

मंगला गाउँपालिकामा बराङ्जाको झाँक्री पानी, चिनाकोट दरबार, कुहुँको टोड्के, बाबियाचौरको मंगला इन्द्रेणीपार्क, अर्मनको चाङ्गा र तीनचुलेलगायत पर्यटकीयस्थलहरु रहेका छन् । स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन गर्न झाँक्री पानी र पूर्ण गाउँमा होमस्टे कार्यक्रम समेत विस्तार गरिएको गाउँपालिकाले जनाएको छ । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीको सबै ठाउँमा कम्तीमा पनि एकाएक वटा धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यहरू छन् ।

दसैँको बिदा मनाउन बराङ्जाको झाँक्री पानी क्षेत्रको भ्रमण गर्न पुग्नुभएका आन्तरिक पर्यटक कृष्णबहादुर जिसीले पर्यटकीय स्थल झाँक्री पानीको भ्रमण गर्न पाउँदा आफूलाई आनन्दको अनुभूति मिलेको अनुभव सुनाउनुभयो । झाँक्री पानी क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न सके स्थानीयवासीको जीविकोपार्जनमा पनि सुधार आउने उहाँको भनाइ छ । पर्यटकीय स्थल झाँक्री पानी नजिकै ऐतिहासिक चिनाकोट दरबार समेत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.