काँग्रेस-एमालेसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड

हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौं

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस एमालेसँग सहकार्य गर्नु गल्ती भएको बताउनु भएको छ ।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गर्नुभएको भएको हो ।

उहाँले सरकारले बाढीपहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनस्र्थापनामा लापर्वाही नगरोस् भनेर खबदारी गर्नुभयो ।

यो सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दा नपुग्दै आफूहरुले गरेको आशंका सरकार आफैले पुष्टि गरेको बताउनुभयो ।

आफूहरुले खबरदारीसभा राख्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उहाँले भन्नुभयो– ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौं, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो ।’ माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उहाँले बरु आफूहरुले दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताउनुभयो ।

भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरुलाई सच्चिन मौका दिएको बताउनुभयो । अब आफूहरुलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताउनुभयो ।

प्रचण्ड’ले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेडर्क बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने बताउनु भयो ।

उहाँले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिकाको पक्षमा थालेको अभियान नेपालकै लागि पहिलो रेकर्ड बनाएको बताउनुभएको हो ।अध्यक्ष प्रचण्डले नक्कली भूटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउ गरेपछि अत्तालिएर सरकार ढालिएको उल्लेख गर्दै अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउनकै लागि बनेको बताउनुभयो ।

उहाँले चार दिनको तयारीले गरेको खबरदार सभाले सरकार तर्सेको उल्लेख गर्दै भोलि ठूलै बिरोधसभाको तयारी गरे सरकारको हालत के होला भनेर प्रश्न गर्नुभयो । उहाँले आफूहरुले जनताका मुद्दालाई ज्ञापनपत्रको रुपमा प्रस्तुत गरिएको उल्लेख गर्दै त्यसलाई गम्भीरतापूर्वक नलिए आन्दोल चर्कदै जाने बताउनुभयो ।

बाढीपहिरो पीडितलाई राहत, उद्धार र पुनर्स्थापना गर्ने तथा आफूहरुले थालेको सुशासनको अभियान, उर्जा क्षेत्रमा गरेको क्रान्ति, शैक्षिक क्षेत्रमा लागु गरेको मेरिटोक्रेसी आदि कामलाई सरकारले अगाडि बढाएन भने आन्दोलन अघि बढाउने चेतनावी दिनुभयो ।

अहिले देशका दलाल, भ्रष्ट र बिचौलियाहरुलाई माओवादी पार्टी र त्यसको नेतृत्व प्रचण्ड ठूलो त्रासको रुपमा देखिन थालेको र जनतालाई फेरि एकपटक माओवादीलाई नै बलियो बनाउनुपर्छ भन्ने चिन्ता देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको हकअधिकारका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.