भाइ मसलाको कारोबार ४० प्रतिशतले घट्यो

काठमाडौँ – नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिनै लाग्दा बजारमा भाइ मसलाको व्यापार बढ्न थालेको छ । तर महँगो र उपभोक्ताको क्रय शक्तिमा ह्रास आएकाले ४० प्रतिशतको हाराहारीमा कारोबार घटेको व्यवसायीहरूले बताएका छन् ।

पहिले पहिले तिहारमा घरमै बनाइने ,सेल रोटी,अनरसा ,झिलिङ्गा,चिनी रोटी लगायतका भाइ मसला प्रयोग गर्ने गरेको भए पनि पछिल्लो समय नरिवल, काजु, बदाम, ओखर, मिस्री, दालचिनी, किसमिस, पिस्ता मिश्रित भाइ मसलाको प्याकेट लगायतका मसलाको प्रयोग बढेको छ । भाइ मसला किनमेलका लागि यति बेला बजारमा उपभोक्ता भीड सुरु भएको छ । विशेष गरी काठमाडौँको असनदेखि भोटे बहाल,न्युरोड,भोटाहिटी चोक लगायतका उपत्यकाका मुख्य बजार तथा गल्ली गल्लीमा भाइ मसालाका पसल देख्न पाइन्छ भने किन्नेको भीड पनि उस्तै छ ।

खुद्रा व्यापारीका अनुसार यस पटक भाइ मसलाको मूल्य बढेको छ । भाइ मसलामा २० प्रतिशत भन्दा बढीले मूल्य बढेको व्यवसायीहरूको भनाई छ । खुद्रा व्यवसायीका अनुसार काजु र सुकुमेल किसमिस,पेस्ता लगायत अधिकांश भाइ मसलाको मूल्य बढेको छ । मूल्य वृद्धि हुनुका साथै बजारमा भिडभाड बढे पनि उपभोक्ताले कम मात्रै किन्ने गरेका कारण कारोबारमा गिरावट आएको व्यवसायीहरूको भनाई छ । ४० प्रतिशतको हाराहारीमा कारोबार घटेको व्यवसायीहरूको विश्लेषण छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको तीन महिनामा १ अर्ब भन्दा बढीको भाइ मसला आयात भएको छ । असोज मसान्त सम्ममा १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, किसमिस तथा  ओखरलगायतका भाइ मसलाको आयात भएको भन्सार विभागको तथ्याङ्क छ । जसमा २६ करोड १ लाख ६८ हजार रुपैयाँ बराबरको काजु,२० करोड ९८ लाख ३९ हजार रुपैयाँको ओखर, १८ करोड ५९ लाख ५८ हजार रुपैयाँ बराबरको बदाम आयात भएको देखिएको छ । त्यस्तै,१० करोड ६१  लाख ६१ हजार रुपैयाँ बराबरको किसमिस,१ करोड ४५ लाख ६ हजार रुपैयाँ बराबरको पेस्ता आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

नेपालमा भाइ मसला भारत,चीन,अमेरिका, थाइल्यान्ड भियतनाम, इन्डोनेसिया,लगायतका विभिन्न देशबाट आयात हुने गरेको भन्सार विभागले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.