नदी वारपार गर्न ढुङ्गा सञ्चालनमा
धादिङ- गोर्खाको गण्डकी गाउँपालिकास्थित धावडीका स्थानीयलाई घण्टौँ हिँडेर पृथ्वी राजमार्ग आउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
धादिङको बेनीघाट रोराङ्ग र गोर्खाको गण्डकी गाउँपालिकाको संयुक्त पहलमा सो क्षेत्रका स्थानीयको सुविधाका लागी नदी वारपारका गर्न ढुङ्गा सञ्चालनमा आएसँगै घण्टौँ पैदल हिँडेर पृथ्वी राजमार्गसम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको हो ।
गत असोज महिना तीन दिनसम्म परेको अविरल वर्षाले त्रिशूली नदीको झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएपछि त्यस क्षेत्रका स्थानीयलाई पृथ्वी राजमार्गसम्म आउन घण्टौँ पैदल हिँड्नु पर्ने बाध्यता थियो ।
ढुङ्गा सञ्चालन नहुँदा धादिङको चरौंदी बजारस्थित पृथ्वी राजमार्गसम्म आउन धावडीका स्थानीयलाई दुई देखी तीन घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था थियो ।
यसो त सो क्षेत्रमा उत्पादन भएको कृषि र पशुजन्य उत्पादन बिक्रीका लागी चरौंदी बजारसम्म ल्याउन र दैनिक उपभोग्य बस्तु लग्न समेत ढुङ्गा सञ्चालनमा ल्याएपछि थप सहज भएको भनाई स्थानीयको छ ।
गोर्खाको गण्डकी गाउँपालिकास्थित घ्या चोक र धावाडिका मानिसहरूको मुख्य बजार नै धादिङको चरौंदी बजार हो । सो क्षेत्रमा करिब तीन हजार चार सय घर परिवार मानिसहरू बसोबास गर्दै आएका छन् ।
नदीमा पानीको सतह बिस्तारै कम भएसँगै विपदमा परेका स्थानीयको सुविधाका लागी त्रिशूली नदीमा डुङ्गा सञ्चालनमा ल्याएको बेनीघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष विवेक थपलियाको भनाई छ ।
ढुङ्गा सञ्चालनमा आएपछि तरकारीजन्य उत्पादन बिक्रीका लागी चरौंदी बजारसम्म ल्याउन सहज मात्रै भएको छैन मानिसहरू विरामी पर्दा समेत उपचारका लागी ल्याउन लैजान सहज भएको छ ।
गोर्खा जिल्लाको त्रिशूलीपारीका स्थानीयलाई धादिङको पृथ्वी राजमार्गसङ सडक सम्पर्कका लागी त्रिशूली नदी माथि निर्माण गरिएका ६ ओटा झोलुङ्गे पुल मध्ये दुई ओटामा पूर्ण रूपमा क्षति पुगेको थियो ।
ती मध्ये बेनीघाट रोराङ्गकै तिक्राङ्ग खानी र गोर्खाको भुम्ली चोक जोड्ने पुल अस्थायी रूपमा निर्माण गरी सञ्चालनमा ल्याइएको छ । धादिङ चरौदी र गोर्खाको धावडी जोड्ने झोलुङ्गे पुलको पनि मर्मत सुरु भईसकेको छ ।
उक्त झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याउन दुई महिना लाग्ने अनुमान रहेको छ । दुई महिनासम्म ढुङ्गाबाटै स्थानीयलाई नदी वारपारका लागी सुविधा दिइने पनि जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्