पुल नहुँदा ताल गाउँको पर्यटन व्यवसाय ओझेलमा
मनाङ – हिमाली जिल्ला मनाङको सिरान तालमा झोलुंगे पुल नहुँदा ताल गाउँको पर्यटन व्यवसाय ओझेलमा परेको छ । २०७८ सालमा मस्र्याङदी नदिमा आएको बाढिले ताल गाउँ हुँदै धारापानी तर्फको झोलुंगेपुल बगाएपछि अहिले पदमार्ग र सिंगो ताल गाउँको पर्यटन व्यवसाय प्रभावित भएको हो ।
बाढीले झोलुंगे पुल बगाएपछि पर्यटन व्यवसायनै प्रभावित भएको भन्दै यथासक्य पुल निर्माण गरीदिन स्थानियले आग्रह समेत गरेका छन् । ताल गाउँका होटल व्यवसायी एवं आमा समूहहरुले मनाङबाट निर्वाचित प्रतिनिधीसभा सदस्य टेकबहादुर गुरुङको ध्यानाकर्षण गराउदै सिरानतालमा झोलुंगे पुल निर्माण गरी पर्यटन व्यवसायलाई चलायमान बनाउन आग्रह गरेका हुन् ।
‘पुल नहुँदा धेरै पर्यटक ताल गाउँमै आउदैनन्’ स्थानिय ताल गाउँ होटल व्यवसायी समिति अध्यक्ष त्रिकाशी गुरुङ घलेले भनिन् ‘पदमार्गमा आउन पर्यटकहरुका लागि निकै असहज भएको छ जसले गर्दा हाम्रो व्यवसाय पनि प्रभावित भएको छ ।’
अहिले सिरानतालमा झोलुंगे पुल नहुँदा ताल गाउँ पुगेका पर्यटकहरु केहि दुरी फिर्ता भएर साविक भन्दा धेरै हिड्नुपर्ने हुन्छ । झोलुंगे पुलकै कारण साविकको पदमार्ग प्रभावित हुनुको साथै दिर्घकालिन रुपमा नराम्रो असर गर्ने स्थानियको भनाई छ ।
‘पर्यटकिय सिजनमा होटलहरु भरिभराउ हुने ताल गाउँमा अहिले धेरै होटलहरु खाली जस्तै भएका छन्’ स्थानिय आमा समूह अध्यक्ष कान्छि गुरुङले भनिन् ‘यसले यहाँको व्यवसाय त प्रभावितनै भयो पुल नबन्दा यसले दिर्घकालिन नराम्रो सन्देश जन्छ, यसकारण सिरानतालमा पुल नबनाई हुँदैन ।’
जसरी भएपनि एउटा झोलुंगे पुल निर्माण गरी स्थानिय र पर्यटकलाई राहात दिलाउन स्थानियले सांसद मार्फत सरकारसंग माग गरेका छन् ।
मनाङको समृद्धि पर्यटन व्यवसायमा निर्भर रहेको भन्दै जिल्लाको आवश्यकता र मागलाई सरकार समक्ष राखी छिटो भन्दा छिटो पुल निर्माणको काम सम्पन्न गर्ने सांसद टेकबहादुर गुरुङको भनाई छ ।
‘मनाङको मुख्य व्यवसाय भनेकै पर्यटन व्यवसाय हो’ सांसद गुरुङले भने ‘ताल गाउँको अस्तित्व जोगाउन र व्यवसायिक प्रवद्र्धनका लागि स्थानियको माग जायज छ, जसरी भएपनि जनताको आवश्यकता र मागलाई सम्बोधन हुनेगरी काम गर्छु ।’
ताल गाउँमा भत्किएको झोलुंगे पुलसहित लमजुङ–मनाङ सडक सञ्जालले पनि पर्यटन व्यवसायमा प्रभाव पारेको छ । ताल गाउँ सहित विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गतका केहि होटल व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन । सडक सञ्जाल जोडिएर नियमीत सवारी गुड्न थालेपछि लमजुङ–मनाङ अन्तर्गत पदमार्गसँगै बनेका होटलहरु प्छिल्लो समय विस्थापित हुने अवस्थामा पुगेका हुन ।
अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्यटकहरुको चहलपहल हुने लमजुङको बाहुनडाँडा, घेर्मु, पिसाङ लगायतका गन्तव्यहरुमा पनि पर्यटकिय चहलपहल न्युन भएको छ । लमजुङ हुँदै थोराङ भञ्ज्याङ पास गर्ने अधिकांश पर्यटक बेसीशहरबबाट बाहुँनडाँडा घेर्मु हुँदै पदयात्रामा निस्कने गर्थे । बाहुनडाँडा एवं घेर्मु पर्यटकहरुको एकदिनको गन्तव्य नै थियो । तर पछिल्लो समय मनाङसम्म सडक सञ्जाल जोडिएपछि बाहुनडाँडा हुँदै पदमार्गबाट भएर आउने पर्यटकको सँख्या धेरै घटेको स्थानियले बताएका छन् ।
त्यसैगरी मनाङको नोसोँङ गाउँपालिका–१, ताल गाउँमा पनि पछिल्लो वर्ष पर्यटकिय चहलपहल निकै कम भएको छ ।
त्यसैगरी ङिस्याङ गाउँपालिका–१, पिसाङमा पनि सडक सञ्जालकै कारण स्थानिय होटलव्यवसाय प्रभावित भएको छ । अधिकांश पर्यटकहरु सवारी साधनबाट सिधै माथिल्लो मनाङ वा खाङसार पुग्ने र पदयात्रामा आएका पर्यटकहरुपनि माथिल्लो पिसाङतर्फ मोडिने गर्दा तल्लो पिसाङमा पर्यटकिय चहलपहल निकै कम भएको हो ।
लमजुङ सदरमुकाम बेसीशहरबाट शुरुहुने अन्नपुर्ण पदमार्गमा दैनिक सयौँको सँख्यामा विदेसी पर्यटकहरुको आगमन हुने गर्दछ । बाहुनडाँडा लगायत मस्र्याङदीको खुदी, भुलभुले, ङाँदी, घेर्मु लगायतका ठाउँहरुमा पर्यटक आउन छाडेपछि कतिपय व्यवसायीहरुले व्यवसाय नै बन्द गरेका छन् भने, केहि व्यवसायीहरु पलाएन समेत हुनुपरेको स्थानीय बताउछन् ।
एक्यापको तथ्याँक अनुसार अन्नपुर्ण पदमार्गमा पर्यटकहरुको आगमन घटेको छैन । तर पैदल आउने पर्यटकहरुको सँख्या भने निकै कम भएको छ ।
प्रतिक्रिया राख्नुहोस्