रैथाने बालीको रूपमा लिइने कोदो,फापर,कागुनो,चिनो जस्ता बाली पछिल्लो समय लोपोन्मुख अवस्थामा
धादिङ – रैथाने बालीको रूपमा लिइने कोदो,फापर,कागुनो,चिनो जस्ता बाली पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको छ ।
देशका अधिकांश पहाडी र उच्च पहाडी भागमा गरिने यस्ता रैथाने बालीको संरक्षण र प्रवर्धनमा सरकारले समेत खासै चासो नदेखाएका कारण रैथाने बाली सङ्कटमा परेको हो । जसले गर्दा पछिल्लो केही वर्ष यता कोदो समेत भुटान र भारतबाट आयात गर्नु पर्ने अवस्था आएको छ । यसले एकातिर निकै राम्रो खाद्यान्न बालीको रूपमा लिइने यस्ता अन्नबाली मासिएको छ भने अर्कोतिर अन्यत्र मुलुकबाट आयात गर्नु पर्दा पैसा समेत बिदेसिएको छ । यस्ता बालीलाई सरकारले विशेष चासोका साथ प्रवर्धन गर्नु पर्ने अहिलेको आवश्यकता रहेको छ । रैथाने बालीको रूपमा लिइने कोदो पोसिलो खाद्यान्न बाली मध्ये एक प्रमुख बालीको रूपमा पनि लिइन्छ ।
विशेष गरी पहाडी र उच्च पहाडी चिसो हावापानी भएका स्थानमा कोदोको खेती हुने गर्दछ । गर्मी हावापानीमा भने यो खेती निकै कम मात्रै गर्ने गरिन्छ ।
देशका अधिकांश स्थानमा गरिने यस खेतीको प्रवर्धनका लागी नत स्थानीय तहले कुनै चासो दिइएको पाइन्छ न त सरकारले नै रैथाने बाली संरक्षणका कुनै पहल गरेको पाइन्छ ।
केही वर्ष अघिसम्म गरिने कागुनो चिने,फापर लगायतका रैथाने बाली धादिङमा लोप नै भई सकेको छ ।
रैथाने बाली लोप हुँदै जाने क्रममा निकै उपयोगी र पोसिलो खाद्यान्न बालीको रूपमा लिइने कोदोको खेती धादिङमा लोप हुने अवस्थामा पुगेको छ ।
हरेक वर्ष कोदो खेती गर्ने जमिनको क्षेत्रफलमा कमी हुदै जादाँ उत्पादन समेत घट्दै एक सर्वेक्षणले देखाएको छ ।
पहिले पहिले रोग किराको सङ्क्रमण नहुने कोदो खेतीमा आजकाल माटोमा विभिन्न प्रकारका रासायनिक मलको प्रयोगका कारण रोग किरोको प्रकोप समेत देखिन थालेको छ ।
यसले पनि कोदो उत्पादनमा केही कमी आएको किसानहरूको भनाइ छ ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष पचास प्रतिशतले कोदोको उत्पादन घटेकोमा चालु वर्षमा झनै कमी हुन सक्ने आकलन किसानहरूको छ ।
यस वर्ष पनि कोदो लगाइएको बारीमा रातो र डढुवा रोगको साथै कोदो बालीमा खुम्रो किराको प्रकोपका देखा परेको कारण उत्पादन घट्ने अनुमान रहेको छ ।
कोदो बाली अन्य बाली भन्दा खेती गर्न पनि सजिलो र रोग किराको सङ्क्रमण समेत कम लाग्ने बालीको रूपमा गाउँ घरमा चिनिदै आएको छ।
तर केही वर्ष देखी भने विभिन्न प्रकारकार रोग लाग्न थालेको भन्दै यसको निदानको लागी सरोकारवालसँग किसानहरूले माग समेत गरेका छन् ।
पाखे बारीमा पानी नलाग्ने स्थानमा पनि यसको खेती हुने गर्दछ । कोदोबाट बनेको परीकार खाना र खाजाको रूपमा प्रयोग गरिन्छ ।
धादिङमा कोदो उत्पादन वार्षिक रूपमा कति हुन्छ भन्ने यकिन तथ्याङ्क नभए पनि यस वर्ष करिब सात हजार हेक्टर जमिनमा कोदो खेति गरिएको कृषि ज्ञान केन्द्र धादिङले जानकारी दिइएको छ ।
जिल्लामा रहेका सबै जसो किसानले धेरै थोरै जमिनमा कोदोको खेती गर्ने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्