जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्छ: उपप्रधानमन्त्री सिंह
काठमाडौँ – उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्ल्ड अर्बान फोरममा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर न्यूनीकरणका लागि विश्व समुदायले सहयोग गर्नुपर्नेकुरालाई जोड दिएको बताउनुभएको छ ।
इजिप्टको कायरोमा वर्ल्ड अर्बान फोरममा सहभागी भई नेपाल फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर दातृ निकायहरूले नेपाललाई जलवायु परिवर्तनका असरबाट बचाउन सहयोग गर्न अपिल गरेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण नेपालले अतिवृष्टि, अनावृष्टि लगायतका विपद् भोगिरहेको कुरा सम्मेलनमा प्राथमिकताका साथ उठाएको बताउनु भयो । उहाँले बाढी, पहिरो जाने, हिमालहरूमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा रहेको कुरा सम्मेलनमा जोडदार रूपमा उठाएको नेपालको प्रस्तुति सशक्त भएको उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायहरू नेपाललाई जलवायु अनुकुलनका लागि सहयोग गर्न सकारात्मक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘युएनले नेपालमा विभिन्न सहकार्य गरी कार्यक्रमहरू गर्दै आएको छ । त्यसमा पनि विशेष गरी सङ्घीयतामा गइसकेपछि स्थानीय निकायलाई नै इन्करेज गर्नुपर्छ, समावेश गर्नुपर्छ भनेर सहरहरू निर्माण गर्नको लागि युएन ह्याबिटाइटले धेरै ठुलो कन्ट्रिब्युुसन रहेको कुरा र त्यसमा पनि हाई लाइट गर्यौँ । जलवायु परिवर्तनका कारणले गर्दा अहिले हाम्रो सहरहरूमा अतिवृष्टि, बाढी, पहिरो जाने, हिमालहरूमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा छ । कम कार्बन उत्सर्जन गर्ने नेपाल सबैभन्दा बढी जलवायु परिवर्तनका असर भोग्नुपरिरहेको छ । जसले विभिन्न विपद् निम्त्याइरहेको छ । नेपाललाई सहयोग पुर्याउने कुरामा जोड दिएको छु ।’
उपप्रधानमन्त्री सिंहले जलवायु परिवर्तनका असर कम गर्ने गरी नयाँ सहरको निर्माणको योजना बनाउनुपर्ने बताउनु भयो । गत आइतबार इजिप्ट प्रस्थान गर्नुभएका उपप्रधानमन्त्री सिंहले सहरी विकास सम्बन्धी विश्व सम्मेलनमा तीन वटा सत्रलाई सम्बोधन गर्नुभएको थियो । सम्मेलनमा नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरी कसरी सहरीकरण र बस्ती विकास गर्न सकिन्छ भन्ने विषयलाई प्रमुख एजेन्डा बनाउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्