गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिराको उडान पुन सुरु
रुपन्देही – कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । कुवेतको जजिरा एयरवेजको जहाज बिहान ७ बजेर ४० मिनेटमा जहाज गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको हो । दुई वर्षअघि यो विमानस्थल उद्घाटनसँगै जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो ।
१० महिना उडान भरेपछि प्राविधिक कारण देखाएर उडान स्थगित गरेको जजिराले आजदेखि साताको तीन दिन उडान भर्ने गरी सुचारु गरेको विमानस्थलका महाप्रबन्धक प्रताववावु तिवारीले जानकारी दिनुभयो ।
जजिराले साताको मङ्गलवार, बिहीबार र शनिवार भैरहवा–कुवेत उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ ।
जजिराले १७४ यात्रु लिएर आएको थियो भने जाँदा पनि १७४ जना यात्रु नै लगेर उडेको महाप्रबन्धक तिवारीले जानकारी दिनुभयो । महाप्रबन्धक तिवारीका अनुसार आज मध्यान्हबाटै फ्लाई दुबईले पनि उडान थाल्दै छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई उडान गर्नेछ । फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्