निर्माण सम्पन्न नहुँदै भत्कियो नीलकण्ठेश्वर पर्यटन पार्कको संरचना
धादिङ- नीलकण्ठ नगरपालिकाले आफ्नो पालीकाभित्र कुनै पनि आयोजना सुरु गर्दा आयोजनको विपद् जोखिमको अध्ययन गर्नुपर्ने भन्दै ऐन नै बनाएको छ । तर आफैंले निर्माण गरेको विपद् जोखिम न्यूनीकरण ऐन विपरीत आयोजना सुरु गर्दा समस्या उत्पन्न भएको छ ।
विपद् जोखिमको अध्ययन विना नै आयोजन निर्माण पहुँच र प्रभावको आधारमा सुरु गर्दा आयोजनले पूर्णता पाउन सकेको छैन भने कैयन योजना लथालिङ्ग अवस्थामा छ ।
यस्ता अलपत्र आयोजनाका कारण स्थानीय तहको निकै ठुलो रकम दुरुपयोग भएको स्थानीयको दुखेसो छ । नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ मा पर्ने कमेरे पाखा सामुदायिक वन क्षेत्रमा नगरपालिकाले निर्माण सुरु गरेको पर्यटन पार्क निर्माण सम्पन्न हुन नपाउँदै लथालिङ्ग अवस्थामा पुगेको छ ।
पार्कको सौन्दर्यका लागी निर्माण गरेका सबैजसो संरचनाले पूर्णता नपाउँदै भत्किएको हो । कमजोर जमिनको भागमा निर्माण सुरु गरिएको नीलकण्ठेश्वर पार्कका लागी बनाइएका संरचनामा प्रयोग भएको निर्माण सामग्री गुणस्तर हीन भएका कारण सबै जसो संरचना भत्किएको स्थानीयको गुनासो छ ।
त्यसमाथि असोज महिनामा तीन दिनसम्म परेको अविरल वर्षाले त पार्कका सबैजसो संरचना बिगारेको छ । पार्कका लागी निर्माण गरेको संरचना र सो स्थानमा बगेको पहिरोका कारण कालुपाण्डे मार्ग समेत जोखिममा परेको छ ।
पार्क निर्माण गर्ने भन्दै जथाभावी ढुङ्गा उत्खनन् गरेका कारण पनि यस्तो अवस्था आएको हो । सो स्थानमा पार्क निर्माण नगर्न भन्दै वन उपभोक्ताहरूले विरोध समेत गर्दै आएको थिए ।
नीलकण्ठ नगरपालिकाले नीलकण्ठेश्वर पार्क निर्माणका लागी गत २०७९ सालदेखी रकम विनियोजन गरी काम सुरु गरेको हो । सो स्थानमा पार्क नै निर्माण गर्ने भन्दै बाग्मती प्रदेश सरकारको पर्यटन उद्योग तथा सहकारी मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजना मार्फत पनि रकम विनियोजन गरी काम गरेको हो ।
सोको लागी मन्त्रालयले असी लाख रुपैयाँ विनियोजन गरेको थियो । नीलकण्ठ नगरपालिकाले नीलकण्ठेश्वर पर्यटन पार्क निर्माणमा आफ्नो स्थानीय तहको आर्थिक वर्ष २०७९ मा पचास लाख, गत आर्थिक वर्षमा ९० लाख र चालु आर्थिक वर्षमा पैँतालीस लाख गरी एक करोड पचासी लाख रकम विनियोजन गरेको हो । तर ठेक्कामार्फत भने काम गरेको जम्मा ७२ लाख मात्रै भुक्तानी दिएको नगरपालिका श्रोतले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्