मनपरी हवाई भाडा वृद्धि गरी यात्रु ठग्ने वायुसेवा कम्पनीहरूलाई कारबाही हुन्छ: मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

कुराकानीमा मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरूको अधिकार हनन हुने गरी भाडा लिने कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिनुभएको हो । उपभोक्ताहरूको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिनुभयो । गत शुक्रवारदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम सुरु भएदेखि वायुसेवा कम्पनीहरूले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरूले गर्दै आएका छन् । सो विषयमा उहाँले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्र मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताउनु भयो । तीन मन्त्रालयको समन्वयमा  विमान सञ्चालकहरूसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको बताउनु भयो । हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरूले टिकटहरू होल्ड गर्ने र महँगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको बताउनु भयो । अहिले क्रमिक रूपमा हवाई भाडा दर पुरानै मूल्यमा आएको बताउनु भयो । सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘टिकेटको कुरा गर्नुभयो । मैले टिकेटको मूल्य बढेपछि परराष्ट्र मन्त्री, श्रम मन्त्री र म बसेर र केही सरोकारवाला साथीहरू बसेर हाम्रो मन्त्रालयको समन्वयमा क्यानमा विमान सञ्चालकहरू र तिनीहरूका प्रतिनिधिहरूलाई राख्यौँ । टिकट बढेका विषयमा उहाँहरूलाई ५ बुँदे निर्णय गरेका छौँ । उहाँहरू त्यो निर्णयमा सहभागी हुनुहुन्छ । ट्राभल एजेन्सीहरूले टिकटहरू होल्ड गर्ने भनेर महँगोमा बेचिएको कुरा आयो, त्यो रोक्नुस् भनेका छौँ । त्यो प्याकेजमै होल्ड गर्ने प्रवृत्ति रोक्नुस् भनेका छौँ । त्यसमा उहाँहरू सहमत हुनुहुन्छ । सस्तो कतिको टिकट बिक्यो, महंगोको कतिको बिक्यो त्यो सबै फेहरिस्त सार्वजनिक गर्नुस् भनेका छौँ । उपभोक्ताहरूको अधिकार हनन नहुने गरी न्यायोचित र तर्कपूर्ण प्राइजमा मात्रै टिकटको भाडा लिनुस् भनेका छौँ । त्यसमा उहाँहरू सहमत हुनुहुन्छ । पछिल्ला केही कम्प्लेन भएको भए क्यानको उच्चपदस्थ कर्मचारीको नम्बरसहित निर्णय सार्वजनिक गरेका छौँ । त्यो कम्प्लेन त्यहाँ गएका छौँ । त्यो विपरीत उहाँहरू जानुभएको छ भने कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छौँ । टिकटको मूल्य बढेको कुरा केही दिन यता बिस्तारै कम हुँदै गएको छ । केही गुनासो भए सम्बोधन गर्न तत्पर छौँ ।’


मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान बिस्तार गर्न मन्त्रालयले योजनाबद्ध रूपमा काम अघि बढाइरहेको बताउनु भयो ।

कुराकानीमा उहाँले भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरूले उडान गरिरहेको र यसलाई १० वटासम्म कसरी पु¥याउने भन्ने योजनामा मन्त्रालय रहेको बताउनु भयो । उहाँले पोखरामा पनि उडानका गतिविधि बढाउने गरी आफू अघि बढिरहेको बताउनु भयो । आफूले निजी क्षेत्रहरूसँग पनि उडान बिस्तारका लागि आवश्यक छलफल अघि बढाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले केही एयरलाइन्सहरू त्यहाँ गएका छन् । उनीहरूलाई त्यहाँ दिगो रूपमा राख्नका लागि सरकारका तर्फबाट गर्ने भनिएको कार्य योजना र कार्ययोजना अन्तर्गतका कामहरू के कति भएका छन् र के कति गर्नुपर्नेछ भन्ने कुराको फलो अप गरिरहेको छु मैले । कार्य योजनाअनुसारका सबै कामहरू सम्बन्धित मन्त्रालयले गर्नुपर्छ । अर्थ मन्त्रालयले गर्ने काम छ, कृषि मन्त्रालयले गर्ने काम छ । श्रम मन्त्रालयले गर्ने काम छ । परराष्ट्र मन्त्रालयले गर्ने काम छ । स्वास्थ्य परीक्षण लगायतका कामहरू छन् । यी विविध कामहरू के कति भएका छन्, छैनन् ? तुरुन्तै हामी गरौँ, भैरहवामा पनि र पोखरामा पनि । त्यो कोसिस भइरहेको छ । तत्कालै फेरि मैले त्यहाँको निजी क्षेत्रसँग उद्योग वाणिज्य महासङ्घका साथीहरू, होटेल व्यवसायी र पर्यटन क्षेत्रसँग सम्बन्धित साथीहरूसँग राज्यले यति ठुलो चेष्टा गरेको छ, विमानस्थल सञ्चालन गर्नका लागि तपाईंहरुले के योगदान गर्न सक्नुहुन्छ ? उद्योग वाणिज्य क्षेत्रका, पर्यटन, होटेल व्यवसायी साथीहरूले के योगदान गर्न सक्नुहुन्छ भन्ने कुरामा म परामर्श गर्दै छु । लुम्बिनी विकास कोषका पदाधिकारीसँग पनि मैले लामो छलफल गरेको छु । भैरहवा विमानस्थल चल्ने भनेको लुम्बिनीले जति आकर्षण थप्न सक्यो, जति लुम्बिनीमा मानिस निम्त्याउन सक्यो,  त्यति नै भैरहवा विमानस्थलको आकर्षण बढ्ने हो । त्यति मात्रै होइन, श्रम क्षेत्रमा जाने धेरै मानिसहरू तथ्याङ्कले मोटामोटी रूपमा ६० प्रतिशत नारायणीबाट पश्चिमतिरबाट मानिसहरू मानिसहरू जान्छन् । ती मानिसहरू त्यहीँबाट उडाउने र उतार्ने बारेमा छलफल गर्दै छौँ । यही छलफल पोखरामा पनि लैजान चाहन्छौँ । भैरहवामा ५ विमान आइसके १० कसरी पु¥याउने र त्यसलाई दिगो कसरी बनाउने ? ठिक त्यस्तै काम पोखरामा कसरी गर्ने ? मैले देखेको भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बन्न सक्छ भैरहवा । पोखरा पर्यटकीय दृष्टिकोणले आउने, नेचर, एड्भेन्चरका लागि आउनेलाई केन्द्र बनाएर उडान गर्नुपर्छ ।

त्रिभुवन विमानस्थलबाट हाइ प्रोफाइल मानिसहरू सङ्घीय राजधानीमा आउनेहरूमा फोकस गरेर काम गरिरहेको छु । हामीले बनाएका तीन वटै एयरपोर्टमा आगामी दिनमा गतिविधि बढ्नेछ । तीन एयरपोर्टको दबाब, आवश्यकताले निजगढ विमानस्थलको अन्तर्राष्ट्रिय स्तरकै निकै ठुलो एयरपोर्ट बन्ने परिकल्पना छ । हामी त्यो बनाउने दिशामा पनि सकारात्मक प्रेरणा मिल्नेछ ।’

उहाँले भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बनाउने र पोखरामा पर्यटकहरूसँग सम्बन्धित उडान गर्ने गरी योजना अघि बढाएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.