जातीय संस्कृति संरक्षण गर्दै गण्डकी प्रदेश महोत्सव
नवलपुर- मुलुकका विभिन्न जिल्लामा लाग्ने मेला र महोत्सव भन्ने बित्तिकै नाफा आर्जनको विषय आउने गर्दछ । प्रायः लाग्ने मेला महोत्सवले व्यापार र नाफालाई नै ध्यान दिएका हुन्छन् । यद्यपि नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवमा भने जातीय संस्कृति संरक्षणको प्रयास गरिएको छ ।
नवलपुरमा रहेका विभिन्न आदिवासी जनजातिहरूको मौलिक संस्कृति संरक्षण गर्न उनीहरूको परम्परागत घर नै निर्माण गरी महोत्सव पुग्ने सर्वसाधारणलाई संस्कृतिबारे बोध गराइएको छ । नेपाल मगर सङ्घ गैँडाकोट नगर अध्यक्ष दुर्गाबहादुर मस्राङ्गी मगरले महोत्सवमा थारु, मगर, गुरुङ, तामाङ र चेपाङ जातिको घर निर्माण गरी उनीहरूले प्रयोग गर्ने परम्परागत घरायसी उपकरण तथा मौलिक खानाहरू प्रदर्शनी गरिएको बताए ।
सांस्कृतिक घरमा चेपाङले प्रयोग गर्ने बन तरुल, गिठा, भ्याकुर, पिँडालु, स्याखु मगर जातिको सांस्कृतिक घरमा उनीहरूले प्रयोग गर्ने औजारहरू न्हाङली (नाङ्लो), पिराँखु (पेरुङ्गो), खुर्पा ट्याक, खँचरी, मुजुरा, जाँतो, ओदान, ढिकी, थारुकोमा ढडिया, जाल, ढकिया, गुरुङको स्याखु, मादल, खै चरीलगायतका सामग्री राखिएका छन् । सांस्कृतिक घरमा राखिएका उनीहरूको पोसाक तथा परम्परागत औजार र खाद्यान्न अति नै स्वादिष्ट भएको गैँडाकोट–२ का कृष्णप्रसाद खनालले बताए ।
यस्ता प्रयासले जनजातिहरूको संस्कृति लोप हुँदै गएकाले नयाँ पुस्तालाई यसबारे बुझाउन तथा संरक्षणका लागि स्थानीय सरकारको ध्यानाकर्षण गर्न सकिन्छ । महोत्सवमा जनजातिको परम्परागत घरसँगै उनीहरूको मौलिकता झल्किने खाना तथा संस्कृति राखिनु संस्कृति संरक्षणको राम्रो प्रयास भएको चितवनका आकाश कँडेलले बताए ।
परम्परागत बस्ती र संस्कृतिबारे अहिलेका पुस्तालाई जानकारी नभएको अवस्थामा यस प्रकारको प्रयासले नेपाली संस्कृति बुझाउन सहयोग गर्नेछ । निकै कलात्मक तरिकाले निर्माण गरिएका घरहरूको छानो खरले छाएका छन् । बाँसले बेरिएको घरमा माटोले लिपपोत गरेर भित्तामा जातीय संस्कृति झल्किने विभिन्न कला र आकृति कोरिएको देख्न पाइन्छ । महोत्सवमा सांस्कृतिक घर निर्माणका लागि तिनै जातिका कालिगडहरू प्रयोग गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्