उखु क्रसिको समय सुरु, उखुको न्युनमत समर्थन मूल्य निर्धारण गर्न माग

पश्चिम नवलपरासी – पश्चिम नवलपरासीका उखु किसानले उखुको न्यूनतम समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् ।

उखु क्रसिङ्गको सिजन सुरु भइसक्दा समेत उखुको समर्थन मूल्य निर्धारण गर्न सरकारले ढिलाइ गरेको प्रति किसानहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

समयमै उखुको समर्थन मूल्य तोके किसानहरूले उद्योगलाई उखु बिक्री गर्न पनि सहज हुने र ठगिनु नपर्ने किसानहरूको भनाइ रहेको छ । नगदे बालीको रूपमा रहेको उखुको उत्पादन लागत र चिनीको वर्तमान बजार मागको आधारमा समर्थन मूल्य तोक्न उखु उत्पादक कृषक समितिले माग गरेको छ ।

किसानहरूले उखु काट्न सुरु गरिसकेकाले सरकारले तत्कालै मूल्य निर्धारण गर्नुपर्नेमा उखु उत्पादक कृषक समिति लुम्बिनीका अध्यक्ष तथा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले जोड दिनुभयो ।

जिल्लामा रहेका चिनी उद्योगहरूले मिल सञ्चालन गर्न सुरु गरेकाले तत्काल उखुको मूल्य तोक्नु आवश्यक रहेको समितिको भनाई छ । यस वर्ष नवलपरासीमा बढीमा २० लाख क्विन्टल उखु उत्पादन भएको समितिको अनुमान छ ।

विगतका वर्षहरूमा उखु बिक्री बापतको भुक्तानी समयमा नपाएका कारण किसानहरूले उखुको विकल्पमा केरालगायतका अन्य बाली लगाउन थालेपछि उखुको उत्पादन घटेको हो । तर गत वर्षको तुलनामा उत्पादन वृद्धि भएको छ ।

जिल्लामा चार वटा चिनी उद्योगले किसानको उखु खरिद गर्ने गरेका छन् । सरकारले समयमै न्यूनतम समर्थन मूल्य नतोक्दा उद्योगहरूले पुरानै वर्षको मूल्यको आधारमा उखु खरिद गर्ने र धेरैले भेली बनाउने उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य हुँदा किसानलाई घाटा हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.