उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन
काठमाडौँ – निर्वाचन आयोगले मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिदैछ ।
उपनिर्वाचनका लागि तय भएको कार्यतालिका अनुसार आयोगले हिजो उम्मेदवारको नामावली प्रकाशन गरेको हो । प्रकाशन गरिएको नामावलीमा आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने र आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।
आजै दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको छ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ ।
यसैबीच आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनमा पर्यवेक्षण गर्न विभिन्न नौवटा संस्थालाई अनुमति प्रदान गरेको पनि आयोगले जनाएको छ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।।
प्रतिक्रिया राख्नुहोस्