टोड्केमा निर्माणाधीन हाईअल्टिच्युडको खेलमैदानमा बजेट अभाव
म्याग्दी– म्याग्दीको तीन वटा पालिकाको सङ्गम स्थलमा पर्ने पर्यटकीय क्षेत्र टोड्केमा निर्माणाधीन हाईअल्टिच्युडको प्ले–ग्राउन्ड अर्थात् खेलमैदानको निर्माण कार्य रोकिएको छ । जिल्लाको रघुगंगा, मंगला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केमा निर्माण थालिएको खेलमैदान बजेट अभावले अलपत्र बनेको हो ।
विविध खेलकुदजन्य प्रतियोगिताको साथै मेला, महोत्सव सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा व्यवस्थित खेलमैदान बनाउने उद्देश्यसहित निर्माण थालिए पनि बजेट अभावले निर्माण कार्य रोकिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा खेलमैदान निर्माण गर्न बागलुङको मनीषा निर्माण सेवासँग ठेक्का सम्झौता गरेर केही काम भए पनि अहिले बजेट नहुँदा खेलमैदानको निर्माण कार्य भने रोकिएको रघुगंगा गाउँपालिकाले जनाएको छ ।
रघुगंगा–५, झिँ गाउँको सिरानमा समुन्द्री सतहदेखि २५ सय मिटरको उचाइमा हाईअल्टिच्युडको खेलमैदान निर्माण कार्य अगाडि बढाइएको थियो । यहाँ खेलमैदान सम्म्याउने, ग्याविन जाली लगाउने जस्ता कामबाहेक अरू थप काम भएको छैन । कुल ५३ लाखको लागतमा ठेक्कामार्फत टेन्डर आह्वान भई कम लागतमा निर्माण सम्झौता भएर पनि तोकिएको समयमा काम सम्पन्न नहुँदा खेलमैदानको निर्माण कार्य नै रोकिएको छ । खेलमैदान निर्माण गर्नको लागि विनियोजित बजेटमध्ये करिब २३ लाख रुपैयाँको मात्रै काम भएको गाउँपालिकाका सब–इन्जिनियर कमलबहादुर चोखालले जानकारी दिनुभयो ।
प्राकृतिक सौन्दर्ययताले भरिपूर्ण तथा पर्यटकीय आकर्षणको अधिक सम्भावना रहेको टोड्केमा हाईअल्टिच्युडको खेलमैदान निर्माण थालिएको थियो । भलिबल, बास्केटबललगायत खेलकुदजन्य गतिविधिहरू सञ्चालन गर्नको लागि खेलमैदानको अपूरो कामलाई पूर्णता दिइने रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । उहाँले व्यवस्थित खेलमैदान बनाउन ठेक्कामार्फत जग्गा सम्म्याउने, ग्याबिन पर्खाल निर्माण गर्ने र अन्य क्रमागत योजनाको लागि प्रदेश र सङ्घ सरकारमा बजेट माग गरिएको जानकारी दिनुभएको छ ।
पर्यटकीय आकर्षण तथा प्रचुर प्राकृतिक सम्भाव्यता बोकेको टोड्केमा हाईअल्टिच्युड खेलमैदान निर्माण गरी भलिबल, बास्केटबल लगायतका खेलकुदका गतिविधिलाई सञ्चालन गर्न मिल्ने बनाउन गाउँपालिकामार्फत करिब १३ करोडको डिपिआर बनाइएको छ । खेलमैदान आसपासको क्षेत्रमा लालीगुराँसको घना जङ्गल समेत रहेकाले सिजनमा राताम्य गुराँसहरू फुल्ने गर्दछन् । यसका साथै दन्ते लहर जस्ते देखिने हिमालहरू हेर्दै खेलकुदका गतिविधिहरूको समेत अवलोकन गर्न सकिन्छ । नेपालमा हाईअल्टिच्युडका खेलमैदान कम भएकाले पनि टोड्केमा खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनको सम्भावना पनि रहेको छ ।
जिल्लाको तीन वटै पालिकाबाट टोड्के जोड्ने सडकको स्तरोन्नति र व्यवस्थित खेलमैदान बनाउन सके खेल पर्यटनमार्फत अगाडि बढ्न सकिने टोड्के हिल रिपोर्ट प्रा लिका संस्थापक÷सञ्चालक भीम शेरचन बताउनुहुन्छ । टोड्केमा प्युठानको स्वर्गद्वारी आश्रमको शाखा रहेकाले धार्मिक पर्यटकहरू पुग्ने गर्छन् । समग्र टोड्के क्षेत्रका लागि पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० समेत बनाउन आवश्यक छ ।
टोड्केसँग सिमाना जोडिएका जिल्लाको तीन वटै स्थानीय तहले आधा दशक अगाडि नै डिपिआर बनाउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन गरेका छैनन् । म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने पर्यटकीय क्षेत्रहरूमा आवश्यक पूर्वाधारहरूको अभाव देखिन्छ ।
प्रतिक्रिया राख्नुहोस्