लुम्बिनीका मुख्यमन्त्री सँग स्वीट्जरल्यान्डका राजदूतको भेट 

प्राविधिक सहयोगलाई निरन्तरता दिन मुख्यमन्त्रीको आग्रह

दाङ-  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सँग स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोने भेटवार्ता गर्नु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रवार भएको भेटवार्तामा लुम्बिनी प्रदेशको विकास र समृद्धिमा स्विस सरकारले हाल गर्दै आएको सहयोगको बारेमा छलफल भएको छ ।

मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भर हुने चरणमा रहेकाले यो अवधिमा दातृ निकायहरूको साथ सहयोग आवश्यक पर्ने भन्दै पूर्वाधार देखि सामाजिक क्षेत्रको विकासमा  सहयोग आवश्यक परेको बताउनु भयो ।´प्रदेश स्थापना भएर कार्यान्वयनमा आएको भर्खरै ७ वर्ष भएको छ ।

प्रदेश आत्मनिर्भरताको बाटाेमा छ । सबै प्रकारको साथ सहयोग जरुरी छ´उहाँले भन्नुभयो-`स्विस सरकारले गर्दै आएको सहयोगलाई प्रदेश तहमा निरन्तरता दिन अझै जरुरी छ । झोलुङ्गे पुल निर्माण, पक्की पुल निर्माण होस ।

प्राविधिक सहयोगलाई अझै निरन्तरता दिन आवश्यक छ ।´लुम्बिनी प्रदेश भित्र मानसिक स्वास्थ्य, मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको समस्या उच्च रहेकाले ती समस्या समाधान गर्न पनि साझेदारी गर्न प्रदेश सरकार तयार भएको जानकारी गराउनु भयो ।

यसका साथै लुम्बिनी प्रदेश सरकारले  प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्य योजना निर्माण गरेर र अब त्यसलाई मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर कार्यान्वयनमा लगिने मुख्यमन्त्री आचार्यले जानकारी गराउनु भयो । हाल स्विस सरकारको सहयोगमा बर्दिया जिल्लामा मात्रै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा कार्यक्रम लागू भएको छ ।

यो कार्यक्रमलाई  प्रदेशका सबै जिल्लामा केन्द्रित गर्न आग्रह गर्नु भयो । मुख्यमन्त्री आचार्यले राखेको प्रस्ताव प्रति राजदूतले सकारात्मक प्रतिक्रिया दिनु भएको भेटमा सहभागी मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रामबहादुर राउतले जानकारी दिनुभयो ।

प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा रणनीतिक योजना निर्माण गरेकोमा राजदूत डानियल मेउल्ली मोन्टेलोने सरकार प्रति बधाई ज्ञापन गर्नु भएको छ ।

भेटमा राजदूत सँगै वरिष्ठ राजनैतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा बासकाेटा, सीएमसी नेपालका प्राविधिक निर्देशक डा.पशुपति महत, प्रादेशिक संयोजक हिमाल गैरे सहितको टोली सहभागी थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.