‘मुन्दुम ट्रेल भ्रमण बर्ष-२०२५’ मा एक लाख पर्यटक भित्र्याउने तयारी (फोटो फिचर)

खोटाङ- नेपाल सरकारको सय गन्तव्य सूचीमा परेको ‘मुन्दुम ट्रेल’को थप प्रवर्द्धनका लागि आयोजना हुन लागेको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष-२०२५’मा करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

आगामी पुस-१७ बाट औपचारिक रुपमा शुरु हुने भ्रमण बर्षमा आन्तरिक तथा बाह्य गरी एक लाख हाराहारी पर्यटक भित्र्याउने लक्ष्य राखिएको हो । मैयुङ-टेम्क-साल्पा-सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजनमा आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष-२०२५’ सफल पार्नका लागि आन्तरिक तयारीलाई तीव्रता दिइएको छ ।

पर्यटकको चाप बढ्न थालेको ‘मुन्दुम ट्रेल’ करिब १ सय ७ किलोमिटर लामो दूरीको रहेको छ । मुन्दुम ट्रेल पर्यटकका लागि भर्जिन गन्तव्य भएकाले कम्तिमा पनि एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले जनाउनुभयो ।

उक्त अवसरमा खोटाङको केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठ स्टे महोत्सव, खोटाङकै साकेला गाउँपालिकामा साकेला सिली तथा अन्य साँस्कृतिक महोत्सव, भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा गुराँस, घोडचढी तथा फिल्म सुटिङ महोत्सवको आयोजना गरिने छ ।

यस्तै, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन र माउन्टेन साइकिलिङ, साल्पा सिलिछो गाउँपालिकामा नछोङ अर्थात धामी महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सव लगायतका कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

पूर्वी पहाडी जिल्लाहरु खोटाङ, भोजपुर, सोलुखुम्बु तथा संखुवासभा सीमामा पर्ने मुन्दुम ट्रेल किराँत समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ । प्राकृतिक, जैबिक तथा ऐतिहासिक महत्व सहितका ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिमा तीन वटै तहका सरकारको करोडौँ लगानी समेत भइरहेको छ । ‘मुन्दुम ट्रेल’को अवधारणा २०७५ पुस २१ मा औपचारिक रुपमा अघि सारिएको हो ।

प्रकृतिप्रेमी सौन्दर्यमा रमाउन चाहने तथा किराँती संस्कार, संस्कृति अध्ययन् एवम् अनुसन्धान गर्न आउने पर्यटकका लागि ‘मुन्दुम ट्रेल’ बिशेष रोजाइमा पर्ने गरेको छ ।

खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमास्थित तावाभञ्ज्याङबाट शुरु भएको यो पदमार्ग टेम्केडाँडा हुँदै मैयुङ, साल्पापोखरीदेखि चार हजार १ सय ६५ मिटरको सिलिचुङमा टुङ्गिन्छ ।

पहाडै–पहाडको चुचुरामा निर्माण शुरु गरिएको ट्रेल अर्थात पदमार्ग पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने गरेको छ । स्थानीय तथा अर्ग्यानिक उत्पादनलाई पर्यटकको सेवाका रुपमा स्थापित गर्नु पदमार्ग क्षेत्रका ब्यवसायीहरुको प्राथमिकतामा पर्दछ ।

मनोरम प्रकृतिका साथै भेडीगोठ, घोडाका बथान, चौरीखर्क गाई-भैंसी बथान पदमार्गका आकर्षणमा पर्दछन् । दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, विविध जडीबुटी लगायतका जैविक बिबिधत पनि मुन्दुम ट्रेल अर्थात पदमार्गको बिशेषता हो ।

विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर मौरी र विभिन्न जङ्गली जनावरहरुसँग मुन्दुम पदमार्गको आकर्षण हो । सगरमाथाको चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले यही पदमार्गको एउटा रुट प्रयोग गरेको बताइन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.