हिंसा प्रभावित महिलालाई न्यायमा पहुँच बढाउनुपर्छ

काठमाडौँ- ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), केयर नेपाल, मुक्ति नेपाललगायत संस्थाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले हिंसा प्रभावित महिलाले न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनपर्ने जरूरी रहेको धारणा राखेका थिए ।

ओरेक नेपालका कार्यकारी निर्देशक सुनिता मैनालीले नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए पनि अझै महिला हिंसामा कमी आउन नसकेको बताउनुभयो ।

अभियानका क्रममा नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेबारे ध्यानाकर्षण गराइने छ ।

यस्तै, अभियानका मागहरूमा सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मूल्यमान्यता तत्काल खारेज तथा सामाजिक रूपान्तरणका लागि समुदायिक तहदेखि राष्ट्रिय तहसम्म अभियान सञ्चालन गर्नुपर्नेलगायत रहेका छन् ।

सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर १६ दिने अभियानका क्रममा महिला तथा बालिकामाथि भएको विभेद र हिंसाबारे प्रतीकात्मक नाटक प्रदर्शनी, हिंसाको विश्लेषणात्मक पुस्तक अन्वेषी सार्वजनिक र सरोकारवाला पक्षहरूसँग बृहत् भेला र देशभर गोष्ठीलगायत कार्यक्रम गर्ने जनाइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.