‘लैङ्गिक हिंसा’ कि ‘महिला हिंसा’ को अलमलमा नेपालको लैङ्गिक समानता
काठमाडौँ- भनिन्छ-लैङ्गिक हिंसाको कारक तत्व अशिक्षा, बेरोजगारी, गरिबी आदि हुन तर शिक्षित, बुद्धिजिवी वा सम्पन्नशाली व्यक्तिहरुबाट पनि हिंसा भएका धेरै घटनाहरु हामीले सुन्दै आएका छौँ । यस अर्थमा मलाई लाग्छ, सबैभन्दा ठुलो मानिसको सोच हो, सोचाइमा परिबर्तन नहुदासम्म हिंसा भइनै रहन्छ ।
सकरात्मक सोच र चिन्तन नभएको मानिस, चाहे त्यो पढेलेखेको होस, बुद्धिजिवी होस् अथवा सम्पन्नशाली किन नहोस, त्यसबाट हिंसा भइनै रहन्छ । त्यसैले, हिंसारहित समाज निर्माण गर्ने हो भने पहिला हामी आफुले आफ्नो व्यवहार परिवर्तनबाट शुरुवात गर्नुपर्दछ । सरोकारवाला भनेको महिला पुरुष दुवै हो । मैले हिंसा गर्नु हुदैन र सहनु पनि हुदैन भन्ने कुराको बोध हामीमा भयो भने लैङ्गिक हिंसा मुक्त घर अनि समाजको निर्माण अवश्य हुनेछ । नेपालमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन थालेको पनि निकै वर्ष भैसक्यो, तर नेपालमा अझैपनि लैङ्गिक हिंसा भन्नाले महिला माथि हुने हिंसा नै सामान्य अर्थमा बुझिन्छ । भनिन्छ, पुरुषमाथि हुने हिंसा नेपालमा नगन्य भएकाले यसरी बुझिएको हो । तर कुरा पीडितको संख्या धेरै र थोरै हुनुको होइन, अवधारणालाई सही अर्थमा प्रयोग गरियो कि गरिएन भन्ने हो ।
समाजमा महिला र पुरुष जो माथि विभेद वा हिंसा भएको छ, त्यसमाथि समानता कायम गर्न जेन्डरको अवधारणा शुरु भएको हो, जसले महिला र पुरुषमाथि समान व्यवहार राख्दै लैङ्गिक समानताको चित्रण गर्दछ । तर हाम्रो देशमा यो अवधारणालाई महिलामाथि हुने हिंसा अन्त्य गर्नको लागि मात्र प्रयोग गर्ने गरी परिभाषित गरिएको छ । यसरी लैङ्गिक हिंसा अन्त्यको नाममा महिला हकहितको मात्र मुद्दा उठाउने हो भने त्यो लैङ्गिक समानताको अवधारणा भन्दा पनि नारीवादको अवधारणा भयो । लैङ्गिक समानताको अवधारणामा महिला पुरुष एक अर्कोको विरुद्धमा बहस गर्ने (महिला भर्सेस पुरुष) अवस्था कहिल्यै पनि हुनु हुँदैन, र लैङ्गिक समानताको परिभाषा भित्र यो पर्दैन पनि । तर लैङ्गिक हिंसाको अन्त्य गर्न भन्दै खुलेका केही संस्थाहरु महिलाको हकहित सुनिश्चित गर्न भन्दै पुरुषको विरुद्धमा उत्रिएका थुप्रै उदाहरणहरु देख्न पाइन्छ । यस्ता अभियानहरुले लैङ्गिक समानता कायम गर्ने भन्दा पनि घर र समाजमा पुरुष विरुद्ध महिलाहरुलाई उक्साएर समस्या माथि समस्या थपिरहेका छन ।
हिंसा सहनु हुदैन भनेर सिकाउँदा, हिंसा गर्नु हुँदैन भन्ने कुरा बिर्सिएको पाइन्छ । पहिलो सिकाइ हिंसा गर्नु हुँदैन भन्ने हो र यदि भइहाल्यो भने त्यसलाई सहनु हुँदैन भन्नु पर्नेमा केही लैङ्गिक हिंसाको अन्त्य गर्ने अभियानका अभियन्ताहरु लैङ्गिक हिंसा विरुद्ध लड्ने घोषणा गर्दै हिँडेको देखिन्छ । यस्को अर्थ हिंसा हुन दिनुपर्छ, अनि त्यस्को विरुद्धमा लडनु पर्छ भन्ने हो त? केही महिना अगडि, एउटा समाचार पढेको थिएँ, नेपालमा नाम चलेको एउटा गैरसरकारी संस्थाले महिलाहरुलाई हिंसाको शारिरीक प्रतिकार गर्न एक महिना लामो शारिरीक तालिम दियो रे । फेरि अर्को समाचार पढेको थिएँ, अर्को गैरसरकारी संस्थाले एउटा मोबाइल एप्लिकेसन तयार गरेर सार्बजानिक गर्यो रे । समाचारमा भनिएको थियो, त्यो एप्लिकेशनको माध्यमबाट नेपालको जुनसुकै ठाउँबाट पनि लैङ्गिक हिंसाको फोटो, अडियो, भिडियो अपलोड गरी सम्बन्धित काम गर्ने संस्थाको ठेगानमा पठाउन सकिन्छ रे । यो एप्पिलकेसनको प्रभावकारिता त हेर्न बाँकि नै होला तर बुझ्नु पर्ने कुरा के हो भने त्यो मोबाइल एप्लिकेसन प्रयोग गरेर हिंसा हुँदाहुँदैको फोटो अडियो वा भिडियो अपलोड गर्ने सक्ने महिला कति छन? के हिंसा पिडित महिलाहरु स्मार्ट फोन चलाउन सक्ने र एप्लिकेसन प्रयोग गरेर रिपोर्ट गर्न सक्नेहरु मात्र छन ? हुन त गाउँघरका सामान्य महिला भन्दा शहर बजारका पढे लेखेका महिलाहरुमा बढि हिंसा हुने कुरा एउटा अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ । हाम्रो देशमा पनि त्यस्को सम्भाव्यतालाई नकार्न सकिँदैन । यो एप्लिकेसन तिनै शहरिया र शिक्षित महिलाहरुको लागि लक्षित होला तर, हाम्रो समस्या त्यतिमा मात्र सिमित छैन । अनि कुरा एक अथवा दुई संस्थाको मात्र पनि होइन, लैङ्गिक हिंसा अन्त्यको नाममा काम गर्ने सबैले लक्षित समुह कुन हो, त्यो समुहको अहिलेको अबस्था कस्तो छ, उनीहरुको जिवनस्तरमा परिणाममुखी सुधार ल्याउन कस्तो कार्यक्रम आवश्यक छ भन्ने कुरा बुझ्न आवश्यक छ ।
नेपालमा लैङ्गिक हिंसा अन्त्य हुन नसकेको प्रति चिन्ता व्यक्त गरे जस्तो गर्ने केही सरोकरवालाहरुले राजधानी काठमाण्डौँ र केही सुगम जिल्लाका सदरमुकाममा २-४ वटा र्याली निकालेर, कोण सभा गरेर “जबसम्म महिला हिंसा अन्त्य हुदैन तबसम्म देशको विकास हुँदैन” भन्दै भाषण मात्रै गरेर अर्बौ रुपैयाँ सकाए, तर जनचेतना विकासमा सिन्को पनि भाँचेका छैनन । पुरुषको विरुद्धमा खनिएर महिला हिंसा अन्त्य हुन्छ भन्दै भाषण गर्ने केही अभियन्ताहरु लैङ्गिक समानताका कुरा भन्दा आफ्नो घरपरिवारको तितो पोख्दै हिँडेको जस्तो पनि आभाष हुन्छ कहिलेकाहीँ । लक्षित समुहको जीवनस्तर सुधारमा सिन्को पनि नभाच्ने अनि वैयक्तिक वा संस्थागत स्वार्थका लागि केही व्यक्ति र समुहलाई प्रयोग गरी लैंगिक हिंसा अन्त्यका लागि अर्बौ रुपैयाँ खर्च भएका रिर्पोर्टहरु धेरै सार्वजनिक भएका पनि छन । अनि अर्बौं लगानी गर्दा पनि नेपालको लैङ्गिक हिंसाको अवस्थामा सुधार हुन नसकेको सुचना विश्व समुदायमा प्रेषित गरी नेपालीहरु परिवर्तनकारी छैनन् भन्ने सन्देश प्रवाह गर्ने संघ संस्थाहरुले नै साँचो अर्थमा हाम्रो देशमा लैङ्गिक हिंसाको अन्त्य हुन दिइरहेका छैनन ।
हाम्रो समाजमा लैङ्गिक हिंसा भन्नाले सामान्यतया शारिरीक हिंसाका घटनालाई मात्र हेरिन्छ । मानसिक तथा सामाजिक दबाब, शैक्षिक तथा पेशागत विकासमा समान अवसर नदिइनु जस्ता अप्रत्यक्ष रुपमा लैङ्गिक हिंसालाई प्रोत्साहन गर्ने क्रियाकलापहरुलाई खासै ध्यान दिएको पाइँदैन । अनि लैङ्गिक हिंसा पुरुषबाट मात्र हुन्छ भन्ने बुझाइले गर्दा महिलाले महिला माथि गर्ने हिँसा ( जस्तै– सासुले बुहारीलाई, नन्दले भाउजूलाई, जेठानीले देउरानीलाई) लाई पनि हाम्रो लैङ्गिक हिंसाको परिभाषाले राम्रोसँग समेटेको छैन । तर यस्ता घटनाहरुले समाजमा लैङ्गिक हिंसालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रोत्साहन गरिरहेको हुन्छ ।
नीति निर्माणको तहमा बस्ने महिलाहरुले यो विद्यमान अवस्था थाहा हुँदा हुँदै पनि समेट्न नसक्नुले कतै महिलाहरु पनि आँफै हिंसायुक्त मनस्थितिबाट ग्रसित त छैनन् भन्ने शंका पैदा हुन थालेको छ । हिंसा जुनसुकै तहमा भए पनि अपराध नै हो । राष्ट्रसंघको अन्तर्राष्ट्रिय नीति बमोजिम नेपालले पनि लैङ्गिक हिंसा विरुद्ध शुन्य सहनसिलताको नीति अबलम्बन गरेको छ, लैङ्गिक हिंसा विरुद्ध कानुनहरु पनि बनेका छन, जुन कानुनहरु महिलाको हकहितको संरक्षण गर्न बढी केन्द्रीत छन ।
त्यसैले यी कानुनहरुले महिला र पुरुष बिचको सुमधुर सम्बन्ध कायम गर्न सकिरहेका छैनन बरु महिला र पुरुषहरुमा लैङ्गिक बुझाइको दूरी बढदै गएको छ । समाजलाई प्रभावित गर्न सक्ने एउटा सशक्त माध्यम मिडिया पनि हो । जसले लैङ्गिक हिंसा कम गर्न महत्वपूर्ण भुमिका खेल्न सक्छ । तर प्राय जसो मिडियाले घटनाले उग्र रुप लिँदा मात्र स्थान दिने र त्यसपछि के भयो, पीडकलाई के कारवाही भयो भन्ने कुरा प्राय कभर गरेको पाइँदैन । जस्ले गर्दा समाजमा नकरात्मक सन्देश पनि जान सक्छ । त्यसैले सञ्चार माध्यमहरुमा पनि सकरात्मक कुराका उदाहरणहरुले बढी स्थान पाउन सके सकरात्मक सन्देश सबैमा जान सक्छ । एउटा घरमा अनि एउटा कार्यालयमा महिला र पुरुषबीच सुमधुर सम्बन्ध कायम गर्ने, एक अर्को माथि सद्भाव र सम्मान गर्ने सन्देश फैलाउन सके मात्र हाम्रो समाजमा लैङ्गिक हिंसाको अवस्थामा सुधार देख्न सकिनेछ ।
एउटा घरमा बाबु आमाले जबसम्म छोरा र छोरी समान हुन भनेर सोच्न सक्दैनन, जबसम्म दाजु–बहिनी अथवा दिदी-भाइबीच हामी समान हौँ/रहेछौँ भन्ने भावना पैदा हुँदैन, तबसम्म लैङ्गिक हिंसाको अन्त्य सम्भव छैन । त्यसैले लैङ्गिक समानता कायम गर्ने र लैङ्गिक हिंसाको अन्त्य गर्ने दुई फरक तर परस्पर सम्बन्धित धारहरु हुन, जस्को लागि एउटै अबधारणाले काम नगर्न पनि सक्छ । लैङ्गिक हिंसा अन्त्य गर्ने सोचले लैङ्गिक समानता कायम नगर्न सक्छ तर लैङ्गिक समानता कायम गर्ने सोचले पक्कै पनि एक पटक लैङ्गिक हिंसाको अन्त्य हुनेछ । (डा.पौडेल विद्यालय तथा समाजमा हुने लैङ्गिक हिंसा सम्बन्धि विषयका विज्ञ हुन् ।)
प्रतिक्रिया राख्नुहोस्