प्रशासन कार्यालयको सेवा प्रवाहबारे समुदायसँग अन्तरक्रिया

लमजुङ – जिल्ला प्रशासन कार्यालय लमजुङले ग्रामीण भेगका समुदायसँग प्रशासन कार्यालयको सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया गरेको छ । जिल्लाकै विकट क्होलासाँथार गाउँपालिकाको घाम्राङ, पसगाउँ र सिङदीमा कार्यालयको सेवा प्रवाहबारे स्थानीय नागरिकसँग अन्तरक्रिया गरेको हो ।
प्रशासनको सेवा प्रवाह तथा नागरिकका अत्यावश्यक कामहरूलाई केन्द्रित गरी समुदायसँग अन्तरक्रिया गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा नागरिकता सेवा, पञ्जीकरण तथा विविध सिफारिस सेवा, लालपुर्जाका लागि आवश्यक सिफारिस सेवा, वैदेशिक रोजगार ठगी, राष्ट्रिय परिचय पत्र सिफारिस, राहदानी सेवाका सम्बन्धमा जानकारी तथा छलफल भएको थियो ।
त्यस्तै शान्ति सुरक्षा तथा समुदाय स्तरमा अपराध न्यूनीकरणसम्वन्धी सचेतना तथा अवैध हातहतियार, महिला तथा बालबालिकाविरुद्धको अपराध नियन्त्रण, लागु औषध दुर्व्यसन तथा अवैध कारोबार नियन्त्रण सम्बन्धमा, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, समग्र सार्वजनिक सेवा प्रवाह तथा सुशासन व्यवस्थापन र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय तथा उक्त समिति चलायमान बनाउन गरिने गृहकार्यका विषयमा छलफल भएको प्रजिअ गुरुङले बताउनुभयो ।
कार्यक्रममा प्रजिअ गुरुङले प्रशासनको सेवा प्रवाहमा उठेका सवालका सम्बन्धमा समुदाय–जनप्रतिनिधि–प्रशासनबिचको बुझाइ थप घनिष्ठ बनाउँदै सेवा वितरण सहज र पारदर्शी बनाउने उद्देश्यले ग्रामीण भेगका समुदायसँग अन्तरक्रिया गरिएको बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्