प्राप्त पछिल्लो मत परिणामअनुसार निर्वाचित वडाध्यक्षहरु
काठमाडौँ- उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले नौ सय २३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मी नारायण चौधरीले छ सय आठ मत पाउनुभयो ।
आयोगका अनुसार नेपाली कांग्रेसका सञ्जीव काफ्लेले तीन सय ५९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का निर्मला चौधरीले तीन सय १२, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले दुई सय दुई मत पाउनुभएको आयोगले जनाएको छ ।
यसैगरी सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी हुनुभएको छ । साहले छ सय ५२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले पाँच सय ८७ मत प्राप्त गर्नुभयो । साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भगबानी साहले दुई सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका सतिशकुमार चौधरीले एक सय ६५ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहमद ताहिर मुसलमान विजयी हुनुभएको छ । उहाँले एक हजार एक सय ५० मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गर्नुभयो । साथै जनमत पार्टीका सीताराम पटेल कुर्मीले चार सय २३, जनता समाजवादी पार्टी, नेपालका रामबहादुर कुर्मी चौधरीले तीन सय ४१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रफि मोहम्मद मुसलमानले एक सय ३८, राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेशकुमार चौधरीले ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका इनताज अहमद धोवीले ६६ मत पाउनुभयो ।
यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी हुनुभएको छ । तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रबिकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गर्नु भयो ।
साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले) राजेश नगरकोटीले एक हजार तीन सय ९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भोलनले एक सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका आशा विर बलले ८३ मत प्राप्त गर्नुभएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी हुनुभएको छ । उहाँले एक हजार एक सय सात मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बहादुर चन्दले चार सय ८७ मत प्राप्त गर्नुभयो । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले तीन सय ६९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८ मत प्राप्त गर्नुभयो ।
नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे (मिलन) निर्वाचित हुनुभएको छ ।
घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । उहाँका अनुसार घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत प्राप्त गर्नुभयो ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यमबहादुर लामाले तीन सय ४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्वि तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापाले २८ मत पाउनुभयो ।
आइतबार भएको उपनिर्वाचनमा तीन हजार एकसय ७५ मतदातामध्ये दुई हजार दुई सय ५५ ले मतदान गरेका थिए । जसमा ५१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित हुनुभएको छ । उहाँले चार सय ४० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिनुभयो ।
लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बुले तीन सय ६० मत प्राप्त गर्नुभयो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जिव खड्काले ३८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुमार विश्वकर्माले २६ मत प्राप्त गर्नुभएको छ ।
विसं २०७९ को निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका तेजमान लिम्बुको २०८० साल चैत २९ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।
धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित हुनुभएको छ ।
केवटले छ सय ८४ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार केवटका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गर्नुभयो ।
साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गर्नुभएको छ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी हुनुभएको छ ।
भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो ।
भण्डारीकि निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार चार सय ७४ प्राप्त गर्नुभएको छ । कूल सात हजार चार सय ६० मतदातामध्ये तीन हजार नौ सय तीन मत खसेको थियो ।
निर्वाचित भण्डारी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित हुनुभएको थियो । गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको विसं २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित हुनुभएको छ । उहाँले छ सय ४३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
मगरका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वेगम पुनले पाँच सय ३५ मत प्राप्त गर्नुभयो । साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नरेश जङ्ग सिंहले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले सात र मङ्गोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर बुढाले सात मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव विजयी हुनुभएको छ । यादवले तीन सय ७२ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले दुई सय ७७ मत प्राप्त गर्नुभयो । साथै जनमत पार्टीका उदय नारायण पण्डितले दुई सय ३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सञ्जयकुमार यादवले ६८ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
रौतहटको राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका आलमले सात सय ४४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिकरुलाहले चार सय ६३ मत प्राप्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहम्मद नसिम अख्तरले चार सय ३१, जनमत पार्टीका क्यामुदिन धुनियाले ४५, स्वतन्त्र उम्मेदवार शेख रेयाजले ३० मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।
दैलेखको दुल्लू नगरपालिका–१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालबहादुर शाही विजयी हुनुभएको छ । उहाँले पाँच सय ७४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।
उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाही पाँच सय ७१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३ मत प्राप्त गर्नुभयो ।
गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दलबहादुर थापाले नौ सय ३० मत प्राप्त गर्नुभयो । साथै नेकपा (माओवादी केन्द्र)का दुर्गाबहादुर विकले एक सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरी खातीले पाँच मत प्राप्त गर्नुभएको छ ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित हुनुभएको छ । उहाँले तीन सय ५३ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।
सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गर्नुभयो । साथै नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले दुई सय १८ प्राप्त गर्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल सात मत प्राप्त गर्नुभयो ।
विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिमले राजीनामा दिएपछि यहाँ उपनिर्वाचन भएको हो ।
झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ । ओलीले चार सय ९३ मत प्राप्त गरी विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गर्नुभयो ।
यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित हुनुभएको थियो ।
कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिनुभयो ।
गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिनुभयो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुर्गामाया राना थापाले तीन सय ४५ मत प्राप्त गर्नुभयो ।
विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी हुनुभएका एमालेका खीलबहादुर रानामगरको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।
रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
खलिकले छ सय २७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गर्नुभयो ।
आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सदरे आलमले चार सय ५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले एक सय ३५ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्