हिजो भएको स्थानीय तहको उप निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी
कीर्तिपुरमा काँग्रेसको अग्रता
काठमाडौँ – हिजो भएको स्थानीय तहको उप निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्मको विवरण अनुसार हालसम्म वडाअध्यक्षमा नेपाली काँग्रेसको १५ नेकपा एमालेको पाँच नेकपा माओवादी केन्द्रको ४ जसपा नेपालको २ र रास्वपाको १ र नेकपा एसको १ गरी २८ वडाध्यक्ष निर्वाचित भैसकेका छन् । नेकपा एमालेको अध्यक्ष १ र माओवादीकेन्द्रको पनि १ जना पालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका १ र माओवादी केन्द्रको १ स्थानमा विजयी भएका छन् ।
मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी निर्वाचित हुनुभएको छ । माझीले ६ हजार ९ सय ६९ मत ल्याई नेपाली कांग्रेसका बलराम सरदारलाई १ हजार ६ सय ३६ मतले पराजित गर्नुभएको हो । बलराम सरदारले ५ हजार ३ सय ३३ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौ महानगरपालिका १६ को वडा अध्यक्षमा रास्वपाका रोजिना श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले १५८४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी देवेन्द्र पाठकले १३०४ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले चार सय ९८ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा (एमाले)का कुमारी साउदेनले तीन सय ५३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गर्नुभएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का सकिबुल खाँले छ सय ३१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)की आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गर्नुभएको छ ।
रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीका) का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी हुनुभएको छ । हिजो सम्पन्न उपनिर्वाचनमा उहाँले छ सय ५५ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जिउतीदेवी यादवले छ सय ३१ मत ल्याउनुभएको थियो ।
यस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजय हुनुभएको छ । ओखलढुङ्गाको मोलुङ गाउँपालिका –५ को वडा अध्यक्षमा नेकपा (एमाले) का गंगाबहादुर तामाङ बिजयी हुनु भएको छ ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ४ मा भएको वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उमेदवार खड्कराज शाही विजयी हुनु भएको छ ।
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसका उमेदवार मोहन थापा विजयी हुनु भएको छ । दार्चुलाको दुहुँ गाउँपालिका-५ पनि नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी हुनु भएको छ ।
दैलेखको दुल्लु नगरपालिका –१३ मा नेकपा (एमाले) का लालबहादुर शाही विजयी हुनुभएको छ ।
जाजरकोटको कुशे गाउँपालिका – ७ मा कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी हुनुभएको छ । उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नवीनकुमार वान्तवा राई निर्वाचित हुनुभएको छ । हिजो सम्पन्न उपनिर्वाचनमा उहाँले नौ सय २३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी हुनुभएको छ । साहले छ सय ५२ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहमद ताहिर मुसलमान विजयी हुनुभएको छ । उहाँले एक हजार एक सय ५० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे (मिलन) निर्वाचित हुनुभएको छ । घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै बिजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
तेह्रथुमको लालिगुँरास नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित हुनुभएको छ । हिजो सम्पन्न उपनिर्वाचनमा उहाँले चार सय ४० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी सुनसरीको गढी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित हुनुभएको छ । उहाँले आठ सय १६ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ । स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी हुनुभएको छ । तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्