चितवनमा गाईबस्तुमा लाग्ने ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्दो
चितवन- चितवनका गाईमा ‘लम्पी स्किन’ डिजिजको संक्रमण तिब्र रुपमा फैलिएको छ । गाईको शरीरमा घाउ देखिने, बिमिरा आउने, खुट्टा सुनिनेसहित ज्वरो आई बेहोस हुने समस्या अत्यधिक देखिएको छ ।
पश्चिम चितवनको पशुपालन र दुग्ध उत्पादनको पकेट क्षेत्र मानिने गीतानगर लगायतका क्षेत्रमा यो समस्या बढ्दै गएकोले किसानहरु चिन्तित छन् ।
गाईमा यस्तो लक्षण राप्ती नगरपालिकामा असारको अन्तिम हप्ता पहिलोपटक देखिएको थियो ।
अहिले यो रोग चितवनका अधिकांश किसानका गोठमा फैलिएको छ ।
गीतानगरका पशुपालक किसान पवित्रा सुवेडी पौडेलका अनुसार गाईको शरीरमा सामान्य देखिएको डाबर भोलिपल्ट शरीरभरि फैलिने, खुट्टा, नाक सुनिने, ज्वरो आउने लक्षणसँगै गाई दुब्लाउने र दुध ठ्याप्पै हुन्छ ।
उनका अनुसार यो रोग लागेपछि गाईको दुध उत्पादन क्षमतामा ह्रास आउछ । उनका गोठमा अहिले ८ वटा गाई छन् । उनले प्रतिदिन करिव ५० लिटर दुध नजिकैको अन्नपुर्ण डेरीमा लगेर बेच्ने गर्छिन् ।
गाईमा यो रोग लागेपछि शरिरमा ठुला साना फोका देखा पर्दछन। सुनिएको र फोका देखा परेको भागमा पोटास पानीले धोईदिने र सामान्य औषधी लगाइदिने गरेको पिडित किसान सारदा तिमिल्सेना बताउछिन् ।
संक्रमण रोक्न केन्द्र सरकारले कुनै भूमिका निर्वाह नगरेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव किशोर बगाले बताउँछन् ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा. दयाराम चापागाईंका अनुसार चितवनका ७ स्थानीय तह मध्ये ५ स्थानीय तहका पशुमा यो रोग देखिएको छ । भरतपुर महानगरपालिकामा १ सय ३२, राप्तीमा ११ सय ९१, खैरहनी नगरपालिकामा ७ सय ६५, रत्ननगरमा १ हजार र कालिका नगरपालिकामा २९ सय ५२ पशुमा यो रोग देखिएको छ ।
अहिलेसम्म जिल्लामा २४ वटा पशु यही रोगका कारण मरिसकेका छन् ।
माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने अहिलेसम्म यो रोग देखा परेको छैन । जिल्लामा यसको रोकथाम गर्न अभियान संचालन गनुपर्ने चापागाईंको भनाई छ ।
चितवन जिल्ला दुग्ध पदार्थमा आत्मनिर्भर जिल्ला हो । यहाँ दैनिक ३ लाख लिटर दुध उत्पादन हुने गरेको छ । यहाँ ५ सयभन्दा बढी व्यवसायिक पशुपालक किसानहरू छन् । करिब ३० हजार मानिसले सहकारीमा दुध बिक्री गर्छन् । करिब ५० हजारदेखि २ लाख मुल्यका गाई यहाँका किसानका गोठमा छन् ।।
प्रतिक्रिया राख्नुहोस्