प्रविधिमैत्री बन्दै कालिका नगर अस्पताल
टोकन प्रणाली र प्रयोगशालाको सेवा विस्तार
चितवन – पूर्वी चितवनको कालिका नगरपालिकामा रहेको कालिका नगर अस्पतालमा गुणस्तरीय सेवाका लागि प्रविधि विस्तार गरिएको छ ।
अस्पतालमा बिरामीको उपचारको प्रभावकारिताका लागि प्रविधिको प्रयोग गरिएको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो ।
विकट पहाडी क्षेत्रमा रहेका चेपाङ समुदायको बाहुल्यता रहेको यस नगरमा विपन्न समुदायका बासिन्दालाई भरपर्दो स्वास्थ्य सेवा प्रदान गरी उपचारका लागि जिल्लाका अन्य अस्पताल जान नपर्ने गरी उपचारमा प्रविधिको प्रयोग गरिएको उहाँले बताउनुभयो । अस्पतालमा टोकन प्रणाली र प्रयोगशालाको सेवा विस्तारको प्रमुख विनोद रेग्मीले उपचारमा आएका ज्येष्ठ नागरिकलाई टोकन प्रणालीबाट टिकट काटेर शुभारम्भ गर्नुभयो ।
अस्पतालमा बुधवार देखी थाइराइड, भिटामिन डी, सी र क्यान्सर रोगको समेत परीक्षण गर्ने मेसिन प्रयोगमा ल्याइएको छ ।
टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने बाध्यताको अन्तका लागि टोकन सिस्टमको सुरुवात गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले प्रदान गरेको २२ लाख मूल्य पर्ने अत्याधुनिक मेसिन प्रयोगमा ल्याइएको हो ।
नगर अस्पतालमा टिकट लिनका लागि टोकन मेसिन सञ्चालन गरिएको र थाइराइड रोग उपचारका लागि ल्याबमा रिपोर्ट तयार गर्ने मेसिन जडान गरी आजैबाट सञ्चालनमा ल्याइएको प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल नगर अस्पतालमा दैनिक ३०० देखि ४०० जना सेवाग्राहीले सेवा लिँदै आएका छन् ।
प्रमुख रेग्मीले अझै सेवालाई थप गर्दै अस्पतालको सेवा प्रभावकारी बनाउँदै लगिने प्रतिबद्धता जनाउनुभयो ।
सरकारले २०७६ सालमा जुट पानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी कालिका नगर अस्पताल निर्माण गरेको थियो । अस्पताल घोषणा भएपछि डाक्टरहरूको दरबन्दी थप गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाइएको हो । हाल सो अस्पतालमा बाल रोग विशेषज्ञ सहित ६ जना मेडिकल अधिकृत तहका डाक्टर कार्यरत छन् भने फिजिसियन र स्त्रीरोग विशेषज्ञ डाक्टरहरूले समेत सेवा दिँदै आएको कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले बताउनुभयो ।
डाक्टर र स्वास्थ्यकर्मी गरी ४० जना कर्मचारी कार्यरत सो अस्पतालले ओपिडी, आकस्मिक, प्रसूति, सुरक्षित गर्भपतन, अत्याधुनिक ल्याब, एक्स–रे, भिडियो एक्स–रे, ई सिजी, रेबिज रोगविरुद्धको भ्याक्सिन दिँदै आएको छ ।
२०७४ सालबाट स्वास्थ्य बिमा सुरु गरेको सो अस्पतालले नगर अस्पतालबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्