बुटवलको कालिका विद्यालयले हासिल गरेका उपलब्धि शैक्षिक विकासकालागि बलियो स्रोत: मुख्यमन्त्री आचार्य

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल उपमहानगरपालिका–१० मा रहेको देशकै उत्कृष्ट कालिका मानव ज्ञान माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस उद्घाटन गर्नु भएको छ । विद्यालयले आइतबार आयोजना गरेको वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समारोहको मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नु भएको हो । सो अवसरमा मुख्यमन्त्री आचार्यले कालिका विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धिहरू प्रदेशका अन्य  विद्यालयहरुकालागि बलियो सिकाई केन्द्रको रूपमा लिनुपर्ने बताउनु भयो ।‘यस विद्यालयले सबै क्षेत्रमा उत्कृष्टता हासिल गरेको छ । यसबाट अन्य विद्यालयहरूले सिक्न जरुरी छ’उहाँले विद्यालयको प्रशंसा गर्दै भन्नुभयो,‘विद्यालयले गर्ने हरेक क्रियाकलाप र भावी योजनामा प्रदेश सरकारको साथ सहयोग रहन्छ । यो विद्यालयले हासिल गरेका उपलब्धिले सिङ्गो लुम्बिनी प्रदेशको गौरव बढाएको छ ।’

विद्यालयलाई यस उचाईमा ल्याईपुर्‍याउन भूमिका खेल्ने सबै बधाईको पात्र रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयले यो उचाइ सधैँ कायम राख्न निरन्तर भूमिका बढाइरहनुपर्ने बताउनु भयो ।‘अथक प्रयत्न र पौरखले यो विद्यालयले उत्कृष्टताको उचाइ हासिल गरेको छ । यस प्रकारको उचाइले प्रदेशको गौरव बढाएको छ’उहाँले भन्नुभयो,‘प्रदेश सरकारले तपाईँहरूलाई सम्मान गर्न चाहन्छ ।’
बहुआयामीक क्षेत्रमा विद्यालयले हासिल गरेका उपलब्धिहरू शैक्षिक विकासकालागि बलियो स्रोत बन्नेमा मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गर्नु भयो ।‘रिजल्टको हिसाबले भन्नुस् या अतिरिक्त क्रियाकलापको हिसाबले भन्नुस् यो विद्यालय देशमै नमुना छ । यहाँबाट उत्पादन भएका विद्यार्थीले जस्तो सुकै प्रतिस्पर्धामा पनि सफलता प्राप्त गरेका छन्’उहाँले भन्नुभयो,‘विद्यार्थी, शिक्षक, अभिभावक एवम् सिङ्गो समुदायले गरेको मेहनतको प्रतिफल हो ।’

वि.सं. २०१७ सालमा स्थापना भएको विद्यालय देशकै नमुना विद्यालयको रूपमा स्थापित छ । विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको हो । मूल समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा मुख्यमन्त्री आचार्यले विद्यालयको मुख पत्र २०८१ को विमोचन गर्नु भयो । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नु भएको कार्यक्रमको सहजीकरण सुदर्शन रेग्मीले गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.