मोटरसाइकल चोर पक्राउ
रौतहट- रौतहट प्रहरीले मोटरसाइकल चोरलाई धमाधम पक्राउ गर्न थालेपछि जिल्लामा पछिल्लो समय मोटरसाइकल चोरीको घटनामा कमी आउन थालेको छ।
जिल्लामा मोटरसाइकल चोरीको घटना बढेपछि रौतहट प्रहरीले चोरलाई धमाधम पक्राउ गरी कार्यवाहीको दायरामा ल्याउन थालेको हो।
छुट्टाछुट्टै ठाउँबाट दुई जनाको मोटरसाइकल चोरी गर्ने एक जना मोटरसाइकल चोर पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरबाट खटेको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका -९ घर भएका मोटरसाइकल चोर नेमी चौधरीका छोरा १९ वर्षीय आयुष चौधरीलाई पक्राउ गरेको छ।
पुस ५ गते दिउँसो चन्द्रपुर नगरपालिका -१० स्थितबाट चोरीको मोटरसाइकल सहित चौधरीलाई पक्राउ गरी जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक डिएसपी राजकुमार राईले जानकारी दिनुभयो।
प्रहरीका अनुसार पक्राउ परेका चौधरी गएको पुस १ गते बिहान ४ बजेको समयमा चन्द्रपुर न.पा. वडा नं. ९ सिंधुरेघाडीका रामकाजी गुरुङको मोटरसाइकल चोरी गरेका थिए।
गुरुङले आफ्नै घर आङगनमा पार्किङ गरी राखेको रोयल इन्फिल्ड कम्पनीको बा ८२ प ९६२६ नम्बरको बुलेट मोटरसाइकल चौधरीले चोरी गरेका थिए।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उक्त मोटरसाइकल खोज तलास गर्दै जाने क्रममा पुस ५ गते चन्द्रपुर नगरपालिका वडा नं.१० स्थितमा रहेको छट्टु चौधरीको बाँस घारी भित्र रहेको झाडीमा लुकाई राखेको अवस्थामा मोटरसाइकल सहित चौधरीलाई पक्राउ गर्न सफल भएका थिए।
प्रहरीको हिरासतमा रहेका चौधरीले गरुडाका पनि एक जनाको मोटरसाइकल चोरी गरेको खुलेको छ। अनुसन्धानको क्रममा चौधरीले गरुडाका उपेन्द्र ठाकुरको टी २०, २२० सिसिको पल्सर मोटरसाइकल चोरी गरेको बयान दिएको प्रहरीले जनाएको छ।
ठाकुरले इलाका प्रहरी कार्यालय गरुडामा मोटरसाइकल खोजतलासको लागि दिएको निवेदनको आधारमा प्रहरीले चोर चौधरीको व्यापक खोजतलास गर्दै आएका थिए। उनको बयानको आधारमा प्रहरीले ठाकुरको मोटरसाइकलको सम्पूर्ण पार्टपुर्जा खुलेको अवस्थामा केही पार्टपुर्जा पनि बरामद गरिसकेको छ। ठाकुरको मोटरसाइकलको अन्य पार्टपुर्जा कहाँ बिक्री गरेको भनी चौधरी सँग प्रहरीले सोधपुछ गरिरहेको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले एक महिना अघि पनि दुई जना मोटरसाइकल चोरलाई पक्राउ गरी चोरीको मुद्दा चलाइसकेको छ।
चौधरीले जिल्लाको विभिन्न ठाउँबाट नयाँ नयाँ मोटरसाइकल चोरी गर्ने र उक्त मोटरसाइकलको सम्पूर्ण पार्टपुर्जा अर्को मोटरसाइकलमा लगाई १५ देखि २० हजारमा बिक्री गर्ने गरेका थिए।
प्रतिक्रिया राख्नुहोस्