सवारी दुर्घटना न्यूनीकरण गर्न चितवनमा लागू पदार्थ सेवन परीक्षण अभियान सुरु

एकै दिन ५ जनामा पृष्टी 

चितवन – चितवन जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लागू पदार्थ सेवन परीक्षण अभियान सुरु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवन र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको सहकार्य समन्वय र मनकामना अस्पताल प्रा.लि. चितवनको प्राविधिक सहकार्यमा यहाँ पहिलो पटक लागू पदार्थ सेवन परीक्षण कार्यक्रम सुरु भएको हो ।

सार्वजनिक सवारी चालकको स्वास्थ्य परीक्षण गरेर अभियानको सुरुवात गरेको चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माले जानकारी दिनुभयो ।

सो अवसरमा सार्वजनिक यातायातका चालक, सहचालकको लागू पदार्थ सेवन (लापसे) परीक्षण गरिएको थियो । ४६ जना सार्वजनिक यातायातका चालक र सहचालकको लापसे परीक्षण गर्दा ५ जनाले लागू पदार्थ सेवन गरेको पाइएको प्रहरी निरीक्षक गायत्री शर्माले जानकारी गराउनुभयो ।

यसरी परीक्षणका क्रममा लापसे गरेका चालक र सहचालकहरूलाई कारबाहीका लागि यातायातका सङ्घसंस्था तथा सवारी धनीहरूकै जिम्मा लगाइएको शर्माले बताउनुभयो ।

पहिलो पटक भएकाले ती संघ संस्थाहरुले आफै कारबाही गर्ने र आगामी दिनमा सावरी चलाउँदा लागु पदार्थ सेवन नगर्न चालक र सहचालकहरूलाई सचेत गराउने बताएपछि जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गर्दै आएको ट्राफिक प्रहरीले लागू पदार्थ सेवनका कारण पनि दुर्घटना बढेको हुनसक्ने अनुमानका आधारमा लापसे परीक्षण अभियान सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बताउनुभयो ।

मादक पदार्थ सेवन गरेर सवारी चलाए कारबाही गर्ने स्पष्ट कानुनी व्यवस्था रहे पनि लापसे गरेकाहरूलाई कारबाही गर्न कानुनको अभाव समेत रहेको एसपी मिश्रले बताउनुभयो ।

‘लापसे गरेकालाई के कारबाही गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नै छैन,’ एसपी मिश्रले भन्नुभयो, ‘परीक्षणमा लापसे देखिए पनि कारबाही गर्न अप्ठ्यारो भएको छ ।’

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले  सार्वजनिक सवारीको क्षेत्रलाई सुरक्षित बनाउन र बढ्दो दुर्घटना न्यूनीकरण गर्न अभियान फलदायी हुने अपेक्षा गरेको बताउनुभयो ।

सार्वजनिक यातायातका चालकले लागू पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गरेको गुनासो बढेसँगै ट्राफिक कारबाही तीव्र पार्न अभियान सञ्चालन गरेको एसपी मिश्रले बताउनुभयो । यसअघि विभिन्न स्थानमा परीक्षण गर्दा चालकले लागू  पर्दाथ सेवन गरेर सवारीसाधन चलाउने गरेको पत्ता लागेको थियो ।

सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक, सहचालक तथा परिचालकलाई लक्षित गरेर चितवनमा प्रहरी निरीक्षक गायत्री शर्मा आएसँगै ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान थालेको थियो ।

ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे÷नगरेको पत्ता लाग्छ । तर, लापसे परीक्षण त्यत्ति सजिलो र कम खर्चिलो छैन ।  लापसे परीक्षणका लागि पहिले मानिसको पिसाब सङ्कलन गरिन्छ ।

किटमा मानिसको पिसाब मिसाएर जाँच गर्दा लागू  पर्दाथ सेवन गरे÷नगरेको पत्ता लाग्छ ।  पिसाबलाई किटमा मिसाएपछि रातो धर्का देखिन्छ । एउटा मात्रै धर्का देखिँदा लागू पदार्थ सेवन गरेको पुष्टि हुन्छ ।  अर्थात् रिपोर्ट पोजेटिभ आयो भन्ने मान्नुपर्छ ।  २ वटा राता धर्का देखियो भने लागू पदार्थ सेवन गरेको छैन भन्ने यकिन हुन्छ । त्यो रिपोर्ट नेगेटिभ हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.