म्याग्दीमा यस वर्ष पाँच प्रतिशतले धान उत्पादन बढ्यो

म्याग्दी– हिमाली जिल्ला म्याग्दीमा यस वर्ष झन्डै पाँच प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको जिल्लाको विभिन्न स्थानमा रोपिएको धानको गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको हो ।

चालु आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाभर ३ हजार ८ सय ६ हेक्टर क्षेत्रफलको जमिनमा धान रोपिएकोमा कुल १३ हजार ६ सय ६४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । यस वर्ष प्रति हेक्टर ३ दशमलव ५९ मेट्रिक टन धानको उत्पादकत्व रहेको छ ।

यसै गरी गत आर्थिक वर्ष २०८०÷०८१ मा पनि ३ हजार ८ सय ६ हेक्टर क्षेत्रफलको जमिनमा धान खेती गरिएको भए पनि जिल्लाभर कुल १२ हजार ९ सय ७९ मेट्रिक टन मात्रै उत्पादन भएको थियो । गत वर्ष प्रति हेक्टर ३ दशमलव ४१ मेट्रिक टन धानको उत्पादकत्व रहेको थियो । त्यस्तै आर्थिक वर्ष ०७९÷०८० मा ३ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा कुल १२ हजार ५९ मेट्रिक टन मात्र धान उत्पादन भएको थियो ।

त्यो वर्ष प्रति हेक्टर ३ दशमलव १ मेट्रिक टन उत्पादकत्व रहेको थियो । तर गत र अघिल्लो आवभन्दा चालु आवमा धानको उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्कमा उल्लेख गरिएको छ । चालु वर्षमा धान उत्पादन बढ्नुमा मौसम अनुकूल, समयमा रोपाइँ हुनु, रोग तथा किराको प्रकोप नदेखिनु, सिँचाइ सुविधाको उपलब्धता र धान भित्र्याउने समयमा मौसमले साथ दिनु जस्ता कारणले गर्दा गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा केही वृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रमार्फत जिल्लाको विभिन्न स्थानमा गरिएको धान बालीको ‘क्रप कटिङ’ विधिबाट धान उत्पादनको अवस्थाबारे अध्ययन गरी तथ्याङ्क तयार गरिएको थियो । म्याग्दीमा गौरिया, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, ताक मारे, भट्टे, छमरुङ, माछापुच्छ्रे् अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २, गुडुरा, दर्माली, आङा (कालो धान), झिनुवा जस्ता स्थानीय (लोकल) जातका धानहरू रोपिन्छ । पछिल्लो समय जिल्लाको सीमित ठाउँमा किसानहरूले सुख्खा धान १, २, ३ नामक जात समेत रोप्न थालेका छन् । किसानहरूले भने भात खानकै लागि भनेर बारीलाई खेत बनाएर धान रोप्दै आएका छन् । पाखो बारीमा भने घैया धान रोप्ने प्रचलन पनि रहेको छ ।

जिल्लाको रत्ने चौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दाना लगायतका क्षेत्रहरूमा धान खेती हुने गरेको छ । यी क्षेत्रहरू धान खेतीका लागि पकेट क्षेत्रको रूपमा चिनिएका छन् । यसै गरी धौलागिरि गाउँपालिका अन्तर्गत पर्ने हिमाली तथा विकट क्षेत्र गुर्जा र लुलाङमा भने अत्यधिक चिसोको कारण धान खेती हुँदैन । कुल २२ सय ९७ वर्ग किलोमिटर क्षेत्रफल रहेको म्याग्दीमा ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेको छ ।

त्यसमध्ये हाल १९ हजार ४ सय ९८ हेक्टरको जमिनमा मात्रै खेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ भने बाँकी ११ हजार ३ सय ५८ हेक्टर जमिन बाँझो रहनुका साथै प्लटिङ गरिएको छ । खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेको छ । यसमध्ये १६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने ४३ सय ३३ हेक्टरको जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।

मौसम अनुकूल, रोग किराको प्रकोप कम, समयमै मनसुनी वर्षा र रोपाइँ भएकाले विगत वर्षको तुलनामा यस वर्ष करिब ५ प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो । जिल्लाको मंगला गाउँपालिकामा उत्पादन हुने स्थानीय जातको गौरिया धान धेरै उपभोक्ताको रोजाइमा पर्ने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.